धनगढी,२३ भदौ ।
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमालेबाट अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै त्यसलाई परास्त गर्नु अपरिहार्य रहेको बताएका छन् ।
उनलेे प्रतिगमनलाई परास्त गर्न पाँच दलीय गठबन्धन कायम राख्नु अपरिहार्य भएको बताए । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बाेल्दै उनलेे एमालेबाट अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै त्यसलाई परास्त गर्नु अपरिहार्य रहेको बताएका हुन् ।

गणतन्त्र, धर्म निरपेक्षता जस्ता महत्वपूर्ण उपलब्धिमाथि एमाले अध्यक्ष केपी ओलीले धावा बोलिरहेकाे भन्दै उनलेे हिन्दु राष्ट्र कायम गर्ने लाइनमा ओली गएकाे आराेप लगाए ।
एमाले अध्यक्ष ओली राजावादीसँग मिलेर देशलाई हिन्दु राष्ट्र कायम गर्न तल्लीन रहेकाे सिंहको आरोप छ । त्यसका लागि ओलीले भारतसँग समेत गहिरो साँठगाँठ गरेको उनले दाबी गरे ।
हिन्दुको मुद्दामा अ‍ोलीले सामन्त गोयलसँग गोप्य भेटघाट गरेर सहमति गरेकाे भन्दै सिंहले त्यसको उदाहरण पशुपतिमा ओलीले दिएको जलहरी र चितवनमा राममन्दिर बनाउनु भएको तर्क गरे ।

नेकपाको द्वन्द्व मिलाउन नसकेर संसद् विघटन गर्नु ओलीको अर्को प्रतिगमन भएको उनको भनाइ छ । अल्पमतमा परेपछि राजीनामा दिएर जनस्तरमा आफ्नो प्रभाव बढाउन छाडेर ओलीले कुर्चीमा रहि रहनका लागि दुई दुई पटक संसद विघटन गरेको उनले बताए । ओलीको सोही कदमका कारण पाँच दलीय गठबन्धन बनेको बताउँदै महासचिव सिंहले यो गठबन्धन लक्ष्य सम्म पुग्नुपर्ने बताए ।

अहिलेको पाँच दलीय गठबन्धन भारतको इसारामा नभई देशको आवश्यकताका आधारमा बनको उनले बताए । तर गठबन्धन सरकारले गरेका कतिपय गलत निर्णयमा भने जनमोर्चा र मसालले सहमति नजनाएको उनले बताए ।

गठबन्धनमा सिट बाँडफाँडको मुद्दा पेचिलो बनेको प्रति उनले असन्तुष्टि व्यक्त गरे । राष्ट्रिय जनमोर्चाले प्युठान र बागलुङमा आफ्नो दाबी गरेको उनले बताए ।