बुटवल,१६ असार ।
लुम्बिनी प्रदेश सरकारले जनजाती समुदायबाट उत्पादन हुने पेय पदार्थ ( स्थानीय मदिरा ) को ब्राण्डिङ्ग र बजारीकरण गर्ने भएको छ ।
कोदो, मौवा, अनदीको चामल, कुरीलोबाट उत्पादीत पेय पदार्थ उत्पादन र बजारीकरण गर्ने भएको हो ।

प्रदेश सरकारको पर्यटन,ग्रामणि तथा शहरी विकास मन्त्रालयले जनजाती समुदायबाट उत्पादन हुने पेय पदार्थको उत्पादन, प्याकेजिङ्ग, ब्राण्डिङ्ग र बजारीकरणका लागि लागि अध्ययन समेत गरेको छ ।

बिज्ञहरुसँग छलफल गरेर मन्त्रालयले त्यसको तयारी सुुरु गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले साउनदेखि काम थालनी गर्ने तयारी गरेको हो । आगामी भदौं महिनादेखि प्रदेशका ४ स्थानबाट समुदाय स्तरबाट उत्पादन हुँदै आएको पेय पदार्थको ब्राण्डिङ्ग र स्थानीय स्तरमा बजारीकरण सुुरु गर्ने मन्त्रालयको तयारी छ ।

स्थानीय रुपमा उत्पादन हुने मदिराको ब्राण्डिङ्ग गर्ने बिषयमा मन्त्रालयले आज बुटवलमा विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरेको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले जनजाती समुदायबाट उत्पादन हुने पेय पदार्थको उत्पादन, प्याकेजिङ्ग, ब्राण्डिङ्ग र बजारीकरण गर्ने पर्यटन,ग्रामणि तथा शहरी विकास मन्त्रालयको कार्यमा प्रदेश सरकारको पूर्ण साथ सहयोग रहने बताए ।

सरोकारवाला निकायहरुसँग पटक÷पटक छलफल र परामर्शपछि प्रदेश सरकारले त्यस कार्यक्रमलाई अगाडी बढाएको भन्दै मुख्यमन्त्री केसीले ग्रामिण जनतालाई स्वरोजगार बनाउन र आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका रहने उल्लेख गरे ।

पर्यटन, ग्रामणि तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले मगर ,थारु , गुरुङ्ग, कुमाल समुदायले कोदो, मौवा ,अनदीको चामल, कुरीलो, मकै, शालको मुनाबाट उत्पादन गर्ने पेय पदार्थको ब्राण्डिङ्ग, बजारिकरण गर्न सके १ देखि ५ लाख जनाले प्रत्यक्ष रोजगारी प्राप्त गर्नुका साथै मदिरा आयातमा खर्च हुने बिदेशी मुद्रा बचत हुने बताए ।

प्रदेश सरकारले दाङ, रोल्पा , पाल्पा , रुकुमबाट पेय पदार्थको उत्पादन र बजारीकरण सुरु गर्ने तयारी गरेको हो । आगामी आर्थिक वर्ष लागि प्रदेश सरकारले २ करोड बजेट छुट्टाएको र माग अनुसार बजेटको ब्यवस्थापन गरिने पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा,कानून महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती,खाद्य प्रबिधि, कृषि तथा भूमी ब्यवस्था मन्त्री सुमन शर्मा रायमाझी,प्रदेश सभा सदस्यहरु भुवनेश्वर चौधरी,दीपेन्द्र कुमार पुन,रमा अर्याल,निर्मला क्षेत्री,नेपाल सरकार उद्योग बिभागका महानिर्देशक,मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिब तथा प्रदेश मन्त्रालयका सचिबहरु,बिभागिय प्रमुखहरुको सहभागिता रहेको थियो ।