बुटवल,१५ असार ।
लुम्बिनी प्रदेशको प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको आर्थिक बर्ष २०७९÷०८० को वजेट पारित भएको छ ।

आज बसेको प्रदेश सभाको दशौं अधिवेशनको २० औं बैठकले प्रदेशका आर्थीक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले पेस गरेको प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो ।

यसअघि आजै बसेको प्रदेश सभाको दशौं अधिवेशनको १९ औं बैठकले लुम्बिनी प्रदेश सभामा प्रस्तुत भएका खर्च कटौती सम्बन्धी सबै प्रस्ताव अस्वीकृत गरेको थियो ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न मन्त्रालयहरूको शिर्षकहरूमाथी नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकाल,भोज प्रसाद श्रेष्ठ,कुल प्रसाद पोखरेल,खड्ग बहादुर खत्री, सरस्वती गौतम र तुल्सी प्रसाद चौधरीले खर्च कटौतीको प्रस्ताव पेस गरेका थिए ।

आर्थीक मामिला तथा सहकारी मन्त्री खड्काले असार १ गते बसेको प्रदेश सभाको बैठकमा आर्थिक वर्ष २०७९।०८० को लागि रु. ४२ अर्ब ६३ करोड ७ लाखको वजेट प्रस्तुत गरेका थिए ।

कुल विनियोजनमध्ये चालु खर्चतर्फ रू १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार कुल बजेटको ३१.२६ प्रतिशत‚ पुँजीगत खर्चतर्फ रू २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार कुल बजेटको ५७.४१ प्रतिशत रहने अनुमान गरिएको छ ।

वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान मार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि रू ४ अर्ब ८३ करोड लाख, कुल बजेटमा वित्तीय हस्तान्तरणको अंश ११.३३ प्रतिशत रहने गरी प्रस्ताव गरिएको छ ।

यसैबीच आजै बसेको प्रदेश सभाको बैठकले प्रदेश प्रहरी सेवा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक र संचार माध्यम सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भएको छ ।

ती दुवै विधेयक आजै बसेको प्रदेश मामिला तथा कानुन समितिको बैठकले दफावार छलफल पछि परिमार्जन सहित पारित गरेको थियो ।
समितिबाट पारित भएको प्रतिवेदन सहितको विधेयक आजै प्रदेश सभाको वैठकमा पेस भएको थियो ।