काठमाण्डाै,१२ असार ।
आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।
मौसमविद् विनु महर्जनका अनुसार अहिले वाग्मती, प्रदेश-१, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ ।

अहिले प्रदेश-१, मधेस प्रदेश, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ भने सुदूरपश्चिम प्रदेशमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

अहिले पानी पर्न रोकिएका केही ठाउँमा दिउँसो फेरि पानी पर्ने अनुमान गरिएको छ । लगातारको वर्षाले बाढी पहिरोको जोखिम बढाएको छ । विशेषगरी आज गण्डकी प्रदेश, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

यी प्रदेशका पहाडी क्षेत्रमा पहिरो तथा नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने हुँदा सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । कास्कीको लुम्ले र जुमलेटी वर्षामापन केन्द्रमा अति भारी वर्षा मापन भएको छ ।

आसपासको साना खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जान सक्ने भएकाले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै नारायणी र यसका साना सहायक नदीहरुमा जल सतह बढ्नसक्ने, कोशी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव बढ्ने पूर्वानुमान छ ।