बुटवल,९ असार । औषधीमा नक्कली म्याद र नक्कली मुल्य प्रिन्ट गरर बजारमा पठाएको आराेपमा बुटवलबाट ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा नागार्जुन गाउँपालिका वडा नं. २ बैतडीका २८ वर्षीय प्रकाश भण्डारी, सोही गाउँपालिका वडा नं. ३ का २३ वर्षीय महेश भण्डारी र दशरथचन्द नगरपालिका वडा नं. ११ वैतडीका २६ वर्षीय हरिष भण्डारी रहेका छन् ।

बुटवल उपमहानगरपालिका वडा नं. ७ दीपनगरमा रहेको बर्तोली प्रिन्टर्सले अवैध रुपमा औषधी तथा पोषणयुक्त सामाग्रिको गोदाम गरेर नयाँ मुल्य राखी विक्रि वितरण गर्ने गरेको पाइएपछि उनिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अवैध रुपमा विभिन्न प्रकारका प्रशोधित (औषधी) तथा पोषणयुक्त सामाग्रि गोदाम गरी राख्ने र नयाँ मुल्य राख्ने तथा म्याद सकिएको औषधीमा नयाँ मिति राखेर विक्रि वितरण भईरहेको सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा अबैध कार्य गरिरहेकै अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

उनीहरु बस्ने घरकोठामा खानतलासी गर्दा तोकिएको मुल्य भन्दा फरक नयाँ मुल्य कायम गरी लेबल प्रिन्ट गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको डीएसपी केसीले बताए ।

प्रहरीले उनीहरुको साथबाट २ सय कार्टुन बिभिन्न प्रकारका औषधी तथा पोषणयुक्त सामाग्रीहरु र १ थान प्रिन्टिङ मेसिन बरामद गरेको छ । पक्राउ परेका उनीहरु उपर सार्वजनिक हित स्वास्थ्य सुरक्षा र नैतिकता विरुद्धको कसुरमा थप अनुसन्धान भईरहेको केसीले जानकारी दिए ।