एजेन्सी,८ असार ।
अफगानिस्तानमा गएको भूकम्पमा परेर कम्तीमा ९२० जनाको मृत्यु भएको छ । भूकम्पमा परेर कैयौँ मानिस घाइते भएका छन् । मानिसको उद्धार र व्यवस्थापनको काम भइरहेको छ ।

सामाजिक सञ्जालमा प्राप्त तस्बिहरूमा पहिरो गएको र भत्किएका घरहरू देख्न सकिन्छ ।

भूकम्पका कारण सबैभन्दा धेरै क्षति पाक्तिका प्रान्तमा भएको छ । यस प्रान्तमा घाइतेहरूलाई स्ट्रेचरमा लैजाँदै गरेको तस्बिरहरू सार्वजनिक भएको छ । दुर्गम ठाउँका घाइतेहरूलाई हेलिकप्टरमार्फत अस्पताल र्पुयाइएको छ ।

तालिबान नेता हिबतुल्लाह अखुन्जादाले सयौँ घर भत्किएको र ज्यान गुमाउनेको संख्या बढ्ने सक्ने बताएका छन् । अफगानिस्तान सरकारका प्रवक्ता बिलाल करीमीले उद्धार, राहत तथा थप प्रकोप रोक्नका लागि आवश्यक टोली परिचालन भएको बताएको प्राप्त समाचारमा जनाइएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार आज बिहान ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट झन्डै ४४ किलोमिटर टाढा भूकम्पको केन्द्रविन्दु रहेको छ । यो भूकम्पको धक्का अफगानिस्तानसहित पाकिस्तान र भारतको पाँच सय किलोमिटर धेरै क्षेत्रमा महसुस गरिएको युरोपेली भू–मध्य सागरीय भूकम्प विज्ञान केन्द्रलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।