काठमाण्डौ,८ असार ।
२ करोड ४४ लाख रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाश प्राप्त नायव सुब्बा गणपति झाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत रहँदा अवकाश पाएका नायब सुब्बा झाको दुई करोड ४४ लाख ७१ हजार एक सय पाँच रुपैयाँ सम्पत्तिको स्रोत नखुलेकोले विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

२०३९ साल मंसिर ९ गते गाविस सचिवका रूपमा सरकारी सेवामा प्रवेश गरेका झाले २०७८ साउनमा नायब सुब्बा पदबाट अवकाश पाएका थिए । २०३९ सालदेखि २०७८ सालसम्मको उनको समग्र आम्दानी तथा खर्च एवं लगानीलाई आधार मानेर छानबिन गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए । समीक्षा अवधिमा झाले दुई करोड ४२ लाख ६७ हजार आयआर्जन गरेको र चार करोड ८७ लाख ३८ हजार रुपैयाँ खर्च एवम् लगानी गरेको देखिएको आयोगको विज्ञप्तिमा जनाइएको छ ।

वैधानिक स्रोत खुल्न नसकेको रकमलाई बिगो मानेर आयोगले त्यस बराबरको सम्पत्ति तथा नगद जफत गर्न पनि माग दाबी गरिएको अख्तियारले जनाएको छ । झाले स्रोत नखुलेको सम्पत्ति राखेको भन्दै आयोगले झाकी श्रीमती र तीन छोरालाई पनि प्रतिवादी बनाएको छ ।
अख्तियारले यसअघि गएको शुक्रवार पूर्व नासु भीमकान्त भण्डारीविरुद्ध ६ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।