काठमाण्डौ,२४ जेठ ।
नेपालमा मंगलबार थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर पीसीआर र एन्टिजेन गरी तीन हजार तीन सय ७६ जनाको नमुना परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप नौ जना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा एक सय सात जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा थप एक लाख आठ हजार सात सय ९२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।