सैनामैना,१९ बैशाख । रुपन्देहीको सैनामैना नगरपालिकाका मेयर पदका उम्मेदवार फडिन्द्र प्रसाद शर्माले चुनाव जितेपछि नगरमा निःशुल्क शिक्षा प्रदान गरिने बताएका छन् ।
नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्र गठबन्धनका उम्मेदवार रहेका शर्माले चुनाव जितेपछि सैनामैनाका सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको शिक्षालाई निःशूल्क गरिने बताए ।
संविधानमै यो ब्यवस्था भएको तर पालिकाहरुमा अझैं कार्यान्वयन हुन नसकेको अवस्थामा सैनामैनामा गठबन्धनको जित भए शिक्षालाई निःशूल्क गर्दै संविधानको कार्यान्वयन गरिने उनको भनाइ थियो ।
चुनावी प्रचार प्रसारमा घरदैलो कार्यक्रममा रहेका शर्माले सैनामैनामा गठबन्धनको जित सुनिश्चित भईसकेको र यही शैक्षिक सत्रबाट लागु हुने गरि कक्षा १२ सम्मको पढाई निःशूल्क गरिने बताएका हुन् ।
निजी श्रोतका शिक्षकलाई नगरपालिकाबाटै तलबको ब्यवस्थापन गर्दै अंग्रेजी नेपाली माध्यमबाट गुणस्तरिय शिक्षा प्रदान गर्दै अब्बल विद्यार्थी उत्पादन गर्ने आफ्नो मुख्य एजेण्डा रहेको उनले बताए ।
यस्तै गठबन्धनबाट उपमेयर पदका उम्मेदवार नेकपा माओबादी केन्द्रका नेता नारायण महतले चुनाव जिते पछि न्यायिक समितिले गर्नु पर्ने कामलाई चुस्तदुरुस्त गरिने बताए ।
उपमेयरले नगरमा भएका काम तथा विकासको अनुगमन गर्ने भएकाले गुणस्तरिय विकासमा जाेड दिने उनकाे प्रतिवद्वता छ ।
वितेका पाँच वर्षमा भएका केही विकास निर्माणका काम पनि गुणस्तर हिन भएको बताउँदै उनलेे अब गठबन्धनको जितसँगै गुणस्तरिय विकास र न्यायको क्षेत्रलाई प्राथमिकता दिने बताए ।
न्यायिक समितिमा आएका मुद्धालाई छिटो भन्दा छिटो छिनोफानो गर्दै नगरमा न्यायको वातावरण सिर्जना गरिने महतले बताए ।
सैनामैना नगरपालिका वडा नं. ५ मा पनि गठबन्धनले चुनावी प्रचार प्रसारलाई तिब्रता दिएको छ । वडा अध्यक्ष पदका उम्मेदवार राजेन्द्र घिमिरेले वडाको विकासको लागि आफ्नो उम्मेदवारी रहेको बताए ।
वडा भित्र अझैं सडक बन्न नसकेको बताउँदै उनलेे आफुले जिते विकासका पुर्वाधार निर्माणलाई जोड दिने प्रतिवद्वता ब्यक्त गरे ।
साे वडाको अध्यक्षमा घिमिरे सहित महिला सदस्यमा अनिता पौडेल,दलित महिला सदस्यमा भक्तिमाया विक, खुल्ला सदस्यमा जिवनारायण मरासिनी र सोम बहादुर विकको उम्मेदवारी रहेको छ ।