बुटवल,१० बैशाख ।
लुम्बिनी प्रदेश शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले नेपालको शैक्षिक विकासमा निजि क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।
नेपालको शैक्षिक विकासमा सरकारले गर्नुपर्ने काम नीजि क्षेत्रबाट भएको भन्दै उनले विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्ने कार्यमा नीजि क्षेत्रले गरेको लगानीको प्रशंसा गरे ।

द ब्रिटिस कलेज काठमाडौँ र द ब्रिटिस एजुकेसन गु्रप युकेको पूर्ण व्यवस्थापनमा रुपन्देहीको तिलोत्तमामा सञ्चालित नमस्ते एकेडेमीद्धारा शनिबार आयोजित गरेको ओपन हाउस कार्यक्रममा बोल्दै मन्त्री खाँले स्वदेशमै हुने यस्ता लगानीले अध्ययनकालागि विदेश जाने युवायुवतीलाई रोक्न मद्धत गर्नुका साथै पुँजी पलायनलाई पनि रोक्न मद्धत गर्ने विश्वास व्यक्त गरे ।

शिक्षामा जती लगानी गर्नुपर्ने हो सरकारले त्यती लगानी गर्न नसकिरहेको बताउँदै उनले मुलुकको शैक्षिक विकासमा नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

विद्यालयले विद्यार्थीका अभिभावक तथा सुभेच्छुकहरुलाई आफ्ना कार्यक्रम र विद्यालयमा भईरहेका गतिबिधिहरु जानकारी गराउन ओपन हाउस कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा विद्यालयका प्रमुख कार्यकारी अधिकृत राजन कंडेलले समाज रुपान्तरणमा शिक्षा महत्वपूण हुने र त्यस्तो शिक्षाको लागि शैक्षिक क्षेत्रमा समेत रुपान्तरण देखिएकोले विश्वबजारमा प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षा दिनेगरी शैक्षिक संस्था सञ्चालन गरिएको बताए ।

परम्परागत शिक्षण सिकाइभन्दा फरक र विद्यालय पहिलो घर भन्ने अबधारणालाई आत्मसात गरी ब्रिटिस शिक्षा पद्दतिलाई आधार मानेर आधुनिक विश्व परिवेश सुहाउँदो जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित विदेशी शिक्षक एवम् परामर्सदाताको सहभागितमा शैक्षिक कार्यक्रम सञ्चालन गरिएको विद्यालयका संस्थापक अध्यक्ष डिल्लीनारायण पाण्डेयले जानकारी गराए ।

वेलायतमा अभ्यास गरिने शिक्षण सम्बन्धि उच्चस्तरीय सीप र प्रविधिलाई नेपाली परिवेशमा प्रयोग गरेर ‘ग्लोवल टु लोकल अवधारणा अनुरुप विद्यार्थीको चौतर्फी विकासमा अग्रसर रहेको विद्यालय व्रिटिस ग्रुपका प्रमुख अरुणकुमार कंडेलले बताए ।

अंग्रेजी भाषामा विद्यार्थीलाई दक्ष बनाउन विदेशी शिक्षकबाट विशेष अंग्रेजी कोर्ष एवम नाटक तथा नृत्य प्रशिक्षणको व्यवस्था गरिएको उनले जानकारी दिए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरणमा सहज किसिमले आफ्नो पहुच बनाउन भनेर ११ देखि १६ बर्ष उमेरका विद्यार्थीलाई यसै बर्षदेखि किड्स एमबिए कार्यक्रम सञ्चालनमा ल्याईएको विद्यालयले जनाएको छ ।

सो अवसरमा विद्यालयले सञ्चालन गरेका कार्यक्रममा आफ्ना बालबालिकाले कसरी अध्ययन गरिरहेका छन्, उनीहरुको सिकाई पद्धती कस्तो छ लगायतका समग्र विषयमा प्रत्यक्ष जानकारी लिएका थिए ।