बुटवल,३० पुस ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विविध जाती,भाषा,सँस्कृति र भेषभुषालाई एकीकृत गरी अगाडि बढेमा मात्रै समृद्ध प्रदेश निर्माण गर्न सकिने बताएका छन् ।

माघे संक्रान्ति एवं माघी पर्वको अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गरि मुख्यमन्त्री केसीले हाम्रो देश नेपाल र लुम्बिनी प्रदेश बहु जाती, बहुभाषिक र बहु सँस्कृतिले भरिपूर्ण रहेको भन्दैमा यही हाम्रो देश र प्रदेशको विविध जाती, भाषा, सँस्कृति र भेषभुषालाई एकीकृत गरी अगाडि बढेमा मात्रै समृद्ध प्रदेशको निर्माण गर्न सकिने जनाएका हुन् ।

नेपालको संविधान–२०७२ ले विविध जाति,धर्म,सँस्कृति र समुदायको संरक्षण र सम्बद्र्धनका लागि अधिकार प्रदान गरेको सर्वविदितै रहेको उल्लेख गर्दै मुख्यमन्त्री केसीले नेपाल र प्रदेशको विविधितालाई सम्पत्तिको रुपमा ग्रहण गरी प्रदेश सरकार अगाडि बढ्ने विश्वास ब्यक्त गरेका छन् ।

लुम्बिनी प्रदेश सरकार निर्माणको पहिलो वर्षदेखि थारु र मगर समुदायको महान् पर्व माघे संक्रान्ति र माघीको उपलक्ष्यमा प्रदेश सरकारको तर्फबाट पौष अन्तिम दिन प्रदेश सरकारको तर्फबाट साँस्कृतिक झाँकीसहित माघे संक्रान्ति एवं माघी मिलन कार्यक्रम आयोजना गरिएको स्मरण गर्दै शुभकामना सन्देशमा यस पटक कोभिड १९ को तेस्रो लहर ओमिक्रोनको महामारीको कारणले गर्दा सो कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।
संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित संघीयताको कुशल कार्यन्वयन गर्दै समाजवादप्रति प्रतिबद्ध रही समृद्ध प्रदेश एवं राष्ट्र निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प गरेकाे उल्लेख गर्दै सन्देशमा विगतका राज्यव्यवस्थाले सृजना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक लगायतका सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समाजवाद उन्मुख व्यावस्था निर्माण गर्ने हाम्रो संविधानको संकल्प छ भनिएको छ ।
सबै समुदायको चाड, पर्वलाई प्रदेश सरकारले समान पूर्वक मान्यता प्रदान गर्दै सबैको सहअस्तित्व, सहकार्य, भाइचारा, सद्भावलाई विकास गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास ब्यक्त गर्दै मुख्यमन्त्री केसीले प्रदेशबासीको जीवनलाई समृद्ध बनाउन “समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश” बनाउने आकांक्षाको यात्रामा प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
थारु र मगर समुदायको महान् पर्व माघे संक्रान्ति एवं माघी पर्व २०७८ को अवसरमा प्रदेशबाशीको हर्ष, उल्लास र सद्भावपूर्ण भावना कायम रहोस् भन्दै मुख्यमन्त्री केसीले समृद्ध प्रदेश निर्माणका लागि सबै प्रदेशबासी एवं सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।