सुर्खेत,२८ पुस । नेकपा एमाले दैलेखको निर्वाचनमा फर्जी मत खसेको भेटिएपछि मतगणना स्थगित गरिएको छ ।

मत गणनाका क्रममा खसेको भन्दा ३१ मत भेटिएपछि फर्जी मत खसेको पुष्टि भएको हो । एमाले दैलेखमा जम्मा मतदाताको संख्या ७२१ रहेको थियो । जसमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मीले जानकारी दिए ।

अब केन्द्रीय निर्वाचन आयोगको छानबिनपछि मात्र थप प्रक्रिया अघि बढाइने बताइएको छ ।

एमाले दैलेखमा अध्यक्षका लागि सूर्यबहादुर शाही र रविन्द्रराज शर्माबीच प्रतिस्पर्धा भइरहेको छ । पुनः मतदान गराउनेबारे प्रयास भइरहेको बताइएको छ । खसेको भन्दा बढी मत भेटिएपछि नेताहरुले निर्वाचन मण्डलको कार्यक्षमता माथि पनि प्रश्न उठाएका छन् ।