बुटवल,२७ पुस ।
संघयी संसद सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले नागरिकले खानेपानी निशुल्क उपभोग गर्न पाउनुपर्ने बताएका छन् । उनले अहिले धेरै ठाउँमा खानेपानी केही व्यवस्थित भइसकेको तर धारा जडानका लागि महंगो शुल्क तिर्नुपर्दा विपन्न नागरिक मारमा परेको बताए ।

रुपन्देहीको सैनामैना ९ मा रहेको दलदले बरपानी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको साधारण सभा तथा अधिवेसनमा बोल्दै रुपन्देही क्षेत्र नम्बर ५ का सांसद शाहले नागरिकले कर तिरिसकेपछि खानेपानी जस्तो आधारभूत सुविधा निशुल्क पाउनुपर्ने बताएका हुन् ।

शाहले पानीको शुल्क क्रमश कम गर्दै निशुल्क बनाउने तर्फ जानुपर्नेमा जोड दिए । यो विषयमा संसदमा पनि बहस गर्ने र नीतिगत कुरामा समेट्ने उनले प्रतिवद्धता जनाए ।
कांग्रेस नेता समेत रहेका शाहले आफ्नो पार्टी नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधानको लागि पनि पहल गरिरहेको बताए । कसैलाई पनि भुमिहिन बनाउन नहुने भन्दै उनले एक पटकका लागि सबै भूमिहीनलाई जग्गा र लालपुर्जा उपलब्ध गराइने उल्लेख गरे ।

यसको लागि छिट्टै आयोग गठन भएर काम अघि बढ्ने शाहले जानकारी दिए ।

कार्यक्रममा सैनामैना नगरपालिकाकी उपमेयर विना रानामगरले नगरका सबै ठाउँमा स्वच्छ खानेपानी पु¥याउन नगरपालिका प्रतिबद्ध रहेको बताइन् ।

दलदले बरपानी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष लिलाधर भण्डारीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै खानेपानीको लागि हालसम्म १६ हजार २ सय मिटर पाइप विच्छाइएको र २ सय ३६ घरमा धारा जडान भएको जानकारी दिए । शुल्क तिरेका र धारा जडान नभएका, सदस्यता शुल्क मात्र तिरेका गरि कुल ३ सय ३७ जना संस्थाका सदस्य रहेको उनले बताए ।

कार्यक्रममा कांग्रेसका पूर्व जिल्ला उपसभापति फणेन्द्र शर्मा, प्रदेश सभाका उमेद्वार विष्णु पोखरेल, सैनामैना ९ का वडाध्यक्ष डोलराराज भण्डारी, विष्णु न्यौपाने, उपभोक्ता घनश्याम न्यौपाने, संस्थाका सचिव तिलक नेपाली, सदस्य रामचन्द्र मरासिनी लगायतले बोल्दै स्वच्छ खानेपानी पाउनु जनताको अधिकार भएको बताए । अधिवेसनले संस्थाको नयाँ नेतृत्व समेत चयन गर्ने छ ।