काठमाण्डौ,२७ पुस ।
सरकारले २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएपछि मेला महोत्सव स्थगित हुने क्रम सुरु भएको छ ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमणदर बढ्न थालेपछि सरकारले सार्वजनिक ठाउँमा हुने भिडजन्य गतिविधिमा रोक लगाएको छ ।

कोभिड–१९ व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको सिफारिसका आधारमा गृह मन्त्रालयले भेला तथा मेला महोत्सव गर्न रोक्ने निर्णय कार्यान्वयन गरेको हो । यो निर्णयसँगै विभिन्न ठाउँमा तय भएका मेला महोत्सव स्थगित भएका छन् ।

चितवनको देवघाटमा हुने माघे संक्रान्ति मेला समेत स्थगित भएको छ । मेलामा देशैभरका भक्तजनको भेला हुने भएकाले मेला स्थगित गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए ।

उनका अनुसार चितवनमा हुन लागेका सबै मेला महोत्सव स्थगित गरिएको छ ।

यस्तै भोलिदेखि हुन लागेको पोखराको ‘पोखरा महोत्सव’ पनि स्थगित भएको छ । भोलिदेखि माघ ९ गतेसम्म हुने ११ औं संस्करणको पोखरा महोत्सव स्थगित गरिएको हो ।
अर्को सूचना नआएसम्मका लागि महोत्सव स्थगित गरिएको आयोजक युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

उता आजदेखि हुन लागेको कैलालीको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ स्थगित गरिएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले बताए । आजदेखि माघ ९ गतेसम्म ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ गर्ने तयारी थियो ।

गृह मन्त्रालयले जिल्लामा कोरोना संक्रमणको अवस्था हेरेर सबै प्रकारका सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, जात्रा, महोत्सव रोक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।