बुटवल,१८ पुस ।
लुम्बिनी प्रदेश सरकारले यस वर्षदेखि शुरु गरेको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमले गति लिन थालेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १२ वटै जिल्लाका शिक्षा समन्वयकर्ताहरुसँग अभिमुखीकरण गरेसँगै सो कार्यक्रम कार्यान्वयनले गति लिएको हो ।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परिषदको् कार्यालयका सचिव कुमार दाहालले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको आचार संहिता, कर्मचारीहरुले निर्वाह गर्नु पर्ने भूमिका विषयमा प्रस्तुतिकरण गरेका थिए ।

शिक्षामा लगानि गरेअनुसारको प्रतिफल नआएको भन्दै उनले शैक्षिक सुधार बिना मुलुकको विकास हुन नसक्ने बताए ।

प्रदेशको शैक्षिक स्तर सुधार गर्न मुख्यमन्त्री कुल प्रसाद केसीले शैक्षिक सुधार कार्यक्रम ल्याएको भन्दै उनले मुख्यमन्त्री तथा प्रदेश सरकारको शैक्षिक अवस्था सुधार गर्ने सपना साकार पार्न सबै लाग्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव राजेन्द्र थापाले मुख्यन्त्री शैक्षिक सुधार कार्यक्रमको कार्यविधिका बारेमा प्रस्तुतिकरण गरेका थिए । उनले कार्यक्रम निर्देशक समितिको काम कर्तब्य, जिल्ला अनुमगन समितिको काम कर्तव्य तथा कार्यान्वयन समितिको काम कर्तब्य लगायतको बारेमा समेत जानकारी गराएका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षा तथा सामाजिक विकास महाशाखाका निमित्त निर्देशक मनोज गैरले लुम्बिनी प्रदेशको शैक्षिक अवस्थाको बारेमा प्रस्तुतिकरण गरेका थिए ।
लुम्बिनी प्रदेशका शैक्षिक संस्थाहरुको अवस्था, दवन्दीको अवस्था, विद्यार्थीको अवस्था, सामुदायिक र सँस्थागत विद्यालयको अवस्थाका बारेमा जानकारी गराउँदै उनले आगामी दिनमा शैक्षिक सुधार गर्न जरुरी रहेको बताए ।

कार्यक्रम निर्देशक ग्रिस पुनमगरले कार्यक्रमलाई सफल बनाउने कार्यमा लाग्न सबै समन्वयकर्ताहरुलाई निर्देशन दिए ।

शैक्षिक सुधारका लागि शिक्षामा लगानी गर्नु पर्ने अवधारणा अनुरुप प्रदेश सरकारले आर्थिक वर्ष २०७८।०७९ को नीति तथा कार्यक्रममै पुर्बवर्ती सरकारले सञ्चालन गरिरहेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलाई परिमार्जन गरी मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम ल्याएको थियो ।

मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सरकारको नेतृत्व लिएसँगै उनकै नेतृत्वमा यसै वर्षदेखि मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका लागि बजेटमा विनियोजन गरिएको थियो ।
मुख्यमन्त्री स्वयं अध्यक्ष रहेको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन समिति अन्तर्गत शैक्षिक सुधार कार्यक्रमको निर्देशकमा ग्रीस पुनमगर नियुक्त भइसकेका छन् ।
यस कार्यक्रममा प्रत्येक स्थानीय पालिकामा रकम गईसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । कार्यक्रम अन्तर्गत स्थानीयतहले विद्यालयको शैक्षिक वातावरण निर्माण गर्नका लागि विभिन्न कार्यक्रम छनौट गर्न सक्नेछन् । विद्यालयको खानेपानी, शौचालय, घेरबार, पर्खाल, रंग रोगन लगायको काम गर्न सकिने छ ।