बुटवल,१४ मंसिर ।
लुम्बिनी प्रदेशमा गत आर्थिक वर्ष २०७७–७८ मा ५ सय ११ जनामा एचआईभी पोजेटिभ देखिएको छ ।

एक बर्षमा ५४ हजार ४ सय ९३ जनाको परीक्षण गर्दा ५ सय ११ जनामा एचआईभी पोजेटिभ देखिएको लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
३४ औं विश्व एड्स दिवसको अवसरमा प्रदेशको स्वास्थ्य निर्देशनालयद्धारा आज बुटवलमा आयोजित पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो ।

लुम्बिनी प्रदेशमा एचआईभी परिक्षणको दायारा बढाईए पनि गत आर्थिक बर्ष भन्दा आर्थिक वर्ष २०७७–७८ मा कम संक्रमण देखिएको निर्देशनालयले जनाएको ।

गत आर्थिक वर्षमा देशमा २ लाख ४२ हजारमा परिक्षण गर्दा २ हजार ५ सय जनामा एचआईभी पोजेटिभ देखिएको थियो ।

यस्तै लुम्बिनी प्रदेशमा ८७ हजार गर्भवतीको परिक्षण गर्दा १४ जनामा पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गर्भवती महिलाको स्वास्थ्य चेकचाँज गर्ने क्रममा एचआईभीको पनि परिक्षण हुँदै आएको छ । प्रदेशमा २ सय ८३ जना पोजेटिभ बालबालिका रहेको र उनिहरुको उपचार हुँदै आएको निर्देशनालयको तथ्याङ्कमा रहेको छ । त्यसमध्ये ४९ जना कपिलबस्तु जिल्लाका रहेका छन ।

सरकारले पोजेटिभ बालबालबालिकाको पोषण सुधारको लागि माशिक १ हजार भत्ता दिदैं आएको छ । एचआईभी पोजेटिभ भएका ब्यक्तिले नियमित रुपमा एआरभी औषधी सेवन गरेमा ९५ प्रतिशत निको हुने डाक्टरहरुले बताएका छन ।

एचआईभी रोग पूर्ण रुपमा निको नभए पनि नियमित औषधी सेवनबाट ९५ प्रतिशत भाईरसको भार घटाउन सकिने डाक्टरहरुले बताएका छन ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद गिरीले एचआईभी संक्रमित ब्यक्तिले डाक्टरको सल्लाहा अनुसार नियमित रुपमा औंषधीको सेवन गरे ९५ प्रतिशत स्वस्थ हुको हुने जानकारी दिए ।

नेपालमा सुईबाट लागूपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगीहरु, रोजगारीका लागि विदेशिनेहरु र जेलका कैदीहरु एचआईभी संक्रमणको उच्च जोखिममा रहेको तथ्याङ्कमा उल्लेख छ ।

सरकारले नेपालमा सन् २०३० सम्म एचआईभीको अन्त्य गर्ने लक्ष्य राखेको छ । यसको लागि नँया संक्रमित,संक्रमितमा हुने भेदभाव र संक्रमितको मृत्यु शून्यमा झार्ने सरकारको लक्ष्य रहेको छ । सन २०२६ मा आमाबाट हुने संक्रमण उन्मुलन गर्ने सरकारी लक्ष्य छ ।

कार्यक्रममा निर्देशनालयका जनस्वास्थ्य अधिकृत शैलेन्द्र पाण्डे लगायतले लुम्बिनी प्रदेशमा एचआईभी एड्सको अवस्था र त्यसको रोकथामका लागि भैरहेका प्रयासहरुबारे जानकारी गराएका थिए ।