बुटवल,१४ मंसिर ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनसँगै चुनावको तयारीमा लाग्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार बुटवलमा आयोजित पार्टीका रुपन्देही इन्चार्ज रामप्रसाद बन्जाडेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले महाधिवेशनसँगै चुनावको तयारीमा लाग्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

मुलुक चुनावतिर जान लागेको र आफ्नो पार्टीले पनि त्यसको तयारी गरेको बताउदै उनले आगामी आम निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।

सबै पार्टीहरुले महाधिवेशनका नाममा चुनावको तयारी गरिरहेको बताउदै उनले चुनाव धाँधलीरहित, विश्वसनीय र सबैको पहुँचमा हुनुपर्ने धारणा राखे । ‘चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउन दलहरूबीच आपसी समझदारी र सहकार्य जरूरी छ’ प्रचण्डले भने ।

उनले मुलुक समाजवाद उन्मुख भएको भन्दै मुलुकलाई समृद्ध बनाउनका लागि पनि दलहरूबीच सहकार्य जरूरी रहेको बताए ।

स्वर्गीय नेता बन्जाडे सधै पार्टीप्रति वफादार र साधारण जीवनशैलीका व्यक्ति भएको भन्दै उनको जीवनशैलीबाट कार्यकर्ताले सिक्नुपर्ने बताए ।