कपिलवस्तु,१४ मंसिर ।
सवारी दुर्घटनामा वालिका मृत्युको विषयलाई लिएर प्रहरी र स्थानीय बिच झडप हुँदा कपिलवस्तुमा निरीक्षकसहित ९ जना घाइते भएका छन् ।

लु ३ त ७६ नम्बरको ट्याक्टरले कपिलवस्तुको यशोधरा गाउँपालिका ६ सुठौली कार्यालय नजिकै१२ वर्षीय बालिका सुमन यादवलाई ठक्कर दिएको थियो ।
घटनाको विषयलाई लिएर सवारी साधन तोडफोड गर्न खोजे पछि स्थानीय बासी र प्रहरी बिच झडप भएको प्रहरीले जनाएको छ ।

स्थिति नियन्त्रणमा लिन जनपद प्रहरीले ५ राउण्ड र सशस्त्र प्रहरीले ६ राउण्ड अश्रु ग्यास फायर गरेको थियो । झडपमा परी प्रहरी निरीक्षक विजय सिंह, प्रहरी सहायक निरीक्षक पराग यादव, प्रहरी हवलदार कैलासकोटी चौधरी, प्रहरी जवान भुवन घर्ती, बाल गोविन्द कुर्मी, अनिल थारु, राज कुमार तेली, विवेक खत्री र कमल थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

सोमवार साँझ ५ः३० बजे घटनालाई लिएर करिब ३ घण्टा स्थिति तनाव पूर्ण बनेको थियो । २ सय बढी आक्रोशित स्थानीयको भिडले सुठौली भन्सार कार्यालय अगाडी जाँच पासका लागि बसेका सवारी साधनमा तोड फोड, आगजनी गर्ने प्रयास गर्न खोजेपछि झडप भएको कपिलवस्तुका प्रहरी प्रवक्ता धर्मराज भण्डारीले बताए । अश्रु ग्यास प्रहार पछि प्रहरीले भिड नियन्त्रणमा लिएको थियो । हाल घटना स्थल सामान्य रहेको बताइएको छ ।