पाल्पा,४ मंसिर ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ सहकारीबाटै आम जनताको जीवन स्तर माथि उठाउन प्रदेश सरकारले सहकारी मन्त्रालय गठन गरेर काम अगाडि बढाएको बताएका छन् ।

पाल्पा जिल्लामै नमूना सहकारीको रुपमा सञ्चालन रहेको वगनासकाली बहुउद्धेश्यीय सहकारीको सँस्थाको तेस्रो साधारण सभा एवं भवन उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री केसीले उक्त कुरा बताएका हुन् ।
मुलुककाे समृद्धिका लागि सहकारीहरूसँग सहकार्य गरेर अगाडि बड्नुपर्ने बताउदै मुख्यमन्त्री केसीले सहकारीको माध्यमबाट समाजवादी अर्थतन्त्रको विकास गर्ने प्रदेश सरकारकाे योजना रहेको बताए ।
उनले आम जनतालाई समाजवादमा लग्ने यात्रा तय गरेकोले त्यसलाई सहकारी सँस्थाहरुले नेतृत्व गर्दै आम जनताको सहभागीता बनाउनु पर्नेमा जाेड दिए ।
वर्तमान सरकारको पहिलो दायित्व गणतन्त्र, लोकतन्त्र र आम जनताको विकास पहिलो कार्यभार भएको बताउँदै उनलेे “लुम्बिनी प्रदेश, आत्मभिर लुम्बिनी’ को नारा साकार पार्न प्रदेश सरकार योजनावद्व रूपमा अगाडि बढेकाे बताए ।

मुख्यमन्त्री केसीले पाल्पा जिल्ला धार्मिक, साँस्कृतिक र आर्थिक क्षेत्रको केन्द्र भएको बताउदै पाल्पा दरवार, रानीमहल, श्रीनगर, पाल्पाली ढाकाको माध्यमबाट पाल्पाको आर्थिक विकास गर्ने लक्ष्यका साथ अगाडि बढ्नुपर्नेमा जाेड दिए ।

प्रदेश सरकारले आम किसान तथा उद्यमीहरुलाई सस्तो व्याजमा ऋण उपलब्ध गराउने उदेश्यले प्रदेश सरकारले प्रदेश बैंकको योजना अगाडि सारेको बताउदै मुख्यमन्त्री केसीले साना किसान तथा साना उद्यमी किसानहरुलाई सहुलियत व्याजदरमा ऋण प्रदान गर्नका लागि ५० करोड रुपैया बजेट बिनियाेजन गरेको जानकारी गराए । उनले लुम्बिनी प्रदेशमा बेरोजगारहरुलाई रोजगार प्रदान गर्न र सहकारीहरुलाई नमूना रुपमा सञ्चालन गर्ने प्रदेश सरकारकाे योजना रहेको बताए ।

कार्यक्रममा लुम्बनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री विरबहादुर रानाले सहकारीलाई बचत र ऋण सहकारी मात्रै भन्दा पनि आम जनतालाई उत्पादनसँग जोड्ने कार्यक्रम अगाडि बढाउनु पर्नेमा जाेड दिए । सहकारी भनेकै सहकार्य गरेर अगाडि बढ्ने भन्ने भएको भन्दै उनलेे जनताको जीवन स्तर माथि उठाउने कार्यमा सहकारीले नेतृत्व गर्नुपर्ने बताए ।

मुलुकलाई समृद्धको बाटोमा अगाडि बढाउन आम नेपाली नागरिकलाई सहकारीमा जोडेर अगाडि बढाउनुपर्नेमा जाेड दिदै मन्त्री रानाले समृद्धिकाे आधार कृषि भएकोले प्रदेश सरकारले सिंचाइमा सुधार गरेर कृषि उत्पादन बृद्वि गर्ने योजना अगाडि बढाएको जानकारी गराए ।

संघीय सांसद तथा पुर्व मन्त्री सोमप्रसाद पाण्डेले सहकारीबाट आम जनताको जीवनमा परिवर्तन ल्याउन सकिने बताउदै नेपालको विकासका लागि सरकारले सहकारीसँग हातेमालो गरेर अगाडि बढाउनु पर्ने बताए ।

पाण्डेले नेपालको अस्थिर राजनीति र काेराेना भाइरस संक्रमणका कारण मुलुककाे दिगो विकासमा केही कठिनाइ उत्पन्न भएको भन्दै मुलुक अब राजनीतिक स्थितिरताकाे बाटोमा अगाडि बढ्ने विश्वास ब्यक्त गरे ।
बिकसित मुलुकहरूले सहकारीकाे माध्यमबाट देशको समृद्धि गरेको बताउँदै उनलेे नेपालमा पनि कृषि, पशु पालन, नगदेवालीमा विकासमा आम जनतालाई जोडेर समृद्धिकाे बाटोमा अगाडि बढ्नुपर्नेमा जाेड दिए ।
सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका कार्यबाहक प्रमुख मिरा मरासिनी,जिल्ला सहकारी संघका अध्यक्ष भुपति पाण्डे,संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक रबीलाल तिमिल्सिना,सेयर सदस्यहरू हरीप्रसाद बस्याल र पबित्रा बस्याल,बालबचतकर्ता सदिच्छा बस्याल लगायतले सहकारीहरूलाई उत्पादनमूलक कार्यमा जाेडेर जनताको जिवनस्तर माथि उठाउनुका साथै मुलुककाे समृद्धि हाशिल गर्ने योजना अगाडि बढाउनुपर्नेमा जाेड दिएका थिए ।
संस्थाका बरिस्ठ उपाध्यक्ष माेतिलाल बस्यालकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमकाे सञ्चालन संस्थाका सचिव कमलराज तिमिल्सिनाले गरेका थिए ।