बुटवल, १ मंसिर ।
बुटवल उपमहानगरको नहरपुर माविमा बालमैत्री र भूकम्पप्रतिरोधी अर्को नयाँ भवन निर्माण सुरु भएको छ । भारत सरकार र बुटवल उपमहानगरको संयुक्त लगानीमा नयाँ भवन निर्माण हुन लागेको हो ।

तीन तले २० कोठाको अत्याधुनिक भवनको निर्माणकार्यको बुधबार एक कार्यक्रमकाबीच उपमहानगरका प्रमुख शिवराज सुवेदी र भारतीय दुतावासका प्रमुख सचिव करुण बंसलले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

विद्यालयको भवन निर्माण सहयोगार्थ भारत सरकारले करिब साढे चार करोड रुपैयाँ प्रदान गरेको छ । भवनको अनुमानित लागत झण्डै पाँच करोड रहेको छ ।

विद्यालय भवन निर्माणका लागि आवश्यक पर्ने रकम उपलव्ध गराएर सहकार्य गरेको भन्दै बुटवल उपमहानगरपालिका प्रमुख सुवेदीले भारत सरकार, राजदूतावास र शिलान्यासमा आएका भारतीय अधिकारीहरुलाई धन्यवाद ज्ञापन गरे । उक्त विद्यालयका लागि नयाँ भवन बनाउन भारत सरकारले दूतावासमार्फत चार करोड ४१ लाख ६६ हजार ९३४ रुपैयाँ उपलव्ध गराउने विषयमा गत वर्ष नै सम्झौता भई हस्ताक्षर भएको थियो ।

भवन शिलान्यासमा आएका भारतीय दुतावासका प्रमुख सचिव बंसलले नेपाल–भारत बीचको मित्रतालाई अझ दरिलो र प्रगाढ बनाउन आफुहरु सहकार्य गर्न तयार रहेको बताए । उनले शैक्षिक पूर्वाधार विकासमा भएको सहकार्यलाई निरन्तरता दिदैं दुबै देशका बीचको आत्मीय सम्बन्धलाई अझ बलियो बनाउन केन्द्रित रहने प्रतिवद्धता जनाए ।

नहरपुर माविका प्राचार्य धनेश्वर गौतमले दीर्घकालीन महत्व राख्ने खालको नयाँ भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर व्यवस्थित काम गरिएको बताए । विद्यालय भवन निर्माणका लागि सीएम सगुन जेभी बुटवलले तीन करोड २९ लाख २५ हजारमा ठेक्का लिएको छ ।
२०२७ साल मंसिर २७ गते स्थापना भएको उक्त विद्यालय तीन बिगाहा चार कट्ठा बराबरको क्षेत्रफलमा छ । यहाँ करिब १५ सय विद्यार्थी अध्ययनरत छन् । यही विद्यालयमा अध्ययन गर्ने मजदुरका सन्तानलाई लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री लीला गिरी र उपमहानगरका प्रमुख शिवराज सुवेदीले अभिभावकत्व समेत लिएर नियमित चासो राख्दै आएका छन् ।

भवन शिलान्यास कार्यक्रममा उपमहानगरका उपप्रमुख गुमादेवी आचार्य, जनप्रतिनिधिहरु, उपमहानगरका महाशाखा प्रमुखहरु, इन्जिनियरहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोरप्रसाद पोखरेल, भारतीय दुतावासका इन्जिनियर सुयोग प्रधान, नागरिक अगुवा, अभिभावकहरुको सहभागिता थियो । कार्यक्रममा विद्यालयका योजनाका बारेमा प्रधानाध्यापक धनिश्वर गौतम र सञ्चालन शिक्षक बलराम न्यौपानेले गरेका थिए ।

डेढ दर्जन विद्यालयमा नयाँ भवन निर्माण
बुटवलमा जनप्रतिनिधि निर्वाचित भएयता करिब १७ वटा विद्यालयका नयाँ र व्यवस्थित भवन निर्माण भएका छन् । तीनै तहका सरकार, दातृ निकायको सहकार्यमा बुटवलको शैक्षिक पूर्वाधारमा महत्वपूर्ण काम भएका छन् । बुधबार शिलान्यास भएको नहरपुर माविको भवन नयाँ हो । नहरपुरमै यसअघि नयाँ भवन निर्माण भइ सञ्चालनमा आइसकेको छ ।

यसअवधिमा उजिरसिंह माविमा दुईवटा ‘ए’ र ‘बी’ ब्लक भवन निर्माण भएका छन् । यस्तै लक्ष्मी मावि, जनता मावि, नहरपुर मावि, कालिका मानवज्ञान मावि शैक्षिक तथा छात्राबास भवन निर्माण भएका छन् । यसैगरी नयांगांउ मावि, प्रगति मावि, जनशक्ति नमूना भिमप्रसाद प्रावि, ज्ञानोदय मावि तथा नविन औद्योगिक कदरबहादुर रीता मावि भवन तला थप साथै सभाहल भवन निर्माण भएको छ ।

बुटवलकै सरस्वती मावि भवन तला थप, भवानी मावि, मायादेवी जनजागृती आधारभूत विद्यालय भवन निर्माण भएका छन् । कालिका क्याम्पस भवन निर्माण, मोतिपुर मावि भवन निर्माण, सिद्धेश्वर लालकुमारी मावि भवन निर्माण सम्पन्न भएका छन् । यसैगरी नवरत्न मावि, नहरपुर मावि, सहिद स्मृती आधारभूत विद्यालय, कालिका मानवज्ञान मावि तथा सिद्धेश्वर लालकुमारी मावि र मोतीपुर माविका भवनमा ट्रस निर्माण गरिएको छ ।
मुलुकमै नमुना शैक्षिक कार्यक्रम

बुटवलको पाँच वर्षे नगर शिक्षा योजना २०७६÷०७७–२०८०÷०८१ निर्माण भई कार्यान्वयनमा रहेको छ । आधारभूत तह कक्षा (१–८) को स्थानीय पाठ्यक्रम निर्माण र पाठ्यपुस्तक लेखन कार्य सम्पन्न गरी कार्यान्वयनमा ल्याइएको छ । ‘समृद्ध बुटवल, खुशी बुटवल बासी’ को उद्देश्य अनुरुप साकार बनाउन उद्यमशिल युवा जनशक्ति उत्पादनका लागि रोजगारमूलक शिक्षाको व्यवस्थापन गर्न सीप संग सम्बन्धित शैक्षिक संगोष्ठि सम्पन्न गरी अवधारणा पत्र तयार भएको उपमहानगरपालिकाले जनाएको छ ।

‘बुटवल उपमहानगर, गुणस्तरीय शिक्षामा समतामूलक अवसर’ भन्ने आदर्श वाक्य अनुरुप सबै विद्यालयमा समान गुणस्तरको शिक्षाको व्यवस्थापनका लागि ‘सिङ्गो बुटवल, एक विद्यालय’को अवधारणा पत्र तयार गरी कायान्वयनको प्रक्रियामा रहेको छ । बुटवल उपमहानगरपालिकामा ललितकला विषयको शिक्षाको व्यवस्थापनका लागि अध्ययन गरी अवधारणा पत्र तयारीका लागि अध्ययन कार्यदल गठन गरी कार्य भैरहेको उपमहानगरपालिकाले जनाएको छ ।