बुटवल,३० कार्तिक ।
अन्तःशुल्कको नक्कली स्टिकर टाँसेर सामान बेचेको आरोपमा रुपन्देहीका १२ उद्योगी विरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।

रुपन्देही र यस आसपासका क्षेत्रमा संचालित बिभिन्न १२ जना उद्योगीहरु विरुद्ध राजश्व अनुसन्धान विभागले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा राजश्व चुहावट अभियोगमा मुद्दा दायर गरेको हो ।

अन्तशुल्कको नक्कली स्टिकर टाँस्ने उद्योगीहरुमा अधिकांस रक्सी उत्पादक कम्पनी (डिस्टिलरी) र बोटलर्स कम्पनी (पानी) उद्योग सञ्चालक रहेका छन् ।

उनीहरूविरुद्ध पाँच करोड ५६ लाख ४३ हजार ९८ रुपैयाँ बिगो कायम गरी बिगो असुल गरी जरिवाना र कैद सजायको मागदाबी गरिएको विभागद्धारा मंगलबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

उद्योग सञ्चालकहरुले अर्को उद्योगसँग मिल्दो नम्बरको नक्कली स्टिकर टाँस्ने देखि विभागले जारी गरेकै जस्तो फर्जी स्टिकर टाँसेर माल वस्तु बेच्ने गरेको पाइएकोले उनिहरु बिरुद्ध मुद्धा दायर गरिएको विभागले जनाएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगर क्षेत्रबाट केहि महिना अगाडि करोड बढीको आन्तरिक राजश्व विभागको नक्कली स्टिकर बरामद भएपछि राजश्व अनुसन्धानले त्यस बिषयमा अनुसन्धान थालेको थियो ।