बुटवल,७ कार्तिक ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२, ढवाहकी अनिता रेग्मी मृत्युको बिषयमा स्वतन्त्र र निष्पक्ष छानबिनको माग गर्दै स्थानीयहरुले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।

मृतकका आफन्त तथा स्थानीयहरुले आईतबार अपरान्ह ४ बजेदेखि ५ बजेसम्म पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवलको ढवाहमा राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् ।


प्रर्दशनकारीहरुले अनिता र अनिताको परिवारलाई न्याय दे, महिला हिंसा अन्त्य गर, बुहारी मार्न पाइदैन, दाइजो लिनु अपराध हो, लगायतका प्ले कार्डसहित राजमार्ग अबरुद्ध गरेका थिए ।

राजमार्ग अबरुद्ध गर्नुका साथै उनिहरुले घटना घटेको घर घेराउ गर्दै नाराबाजी गरेका थिए ।

मृतकका बाबु रामचन्द्र रेग्मीले घटना लगत्तै पिडकलाई नियन्त्रणमा नलिनु र अनुसन्धानका क्रममा असम्बन्धित व्यक्ति प्रवेश गर्नुले प्रहरीको भुमिकामाथि शंका गर्नुपर्ने अवस्था आएको बताए ।

ढवाहँकै सुमन खनालसँग २०७५ सालमा वैवाहिक जीवनमा बाँधिएकी २७ वर्षीय रेग्मी असोज २० गते आफ्नै घरमा झुण्डीएको अवस्थामा फेला परेकी थिईन् ।

सुमनले विवाह गर्दा कुनै पनि दाईजो नचाहिँने बताएपनि विवाह पछि भने बारम्बार दाईजोको विषयलाई लिएर मानसिक तनाव दिँदै आएको माईती पक्षको आरोप छ ।

माईती पक्षले छोरीले आत्महत्या गरेको नभई हत्या गरिएको बताउँदै आएपनि प्रहरीले आत्महत्या दुरुत्साहन मुद्धामा सासु र कान्छा देवरलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

सुमनले डिबी चिठ्ठा परी अमेरीकाबाट नेपाल छुट्टिमा आएको बेला अनितासँग २०७५ साल माघ ४ गते विवाह गरेका थिए ।