काठमाडौं,३१ असाेज । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले
आइतबार मन्त्रीस्तरीय निर्णयबाट प्रजिअसहित केही कर्मचारीको सरुवा गरेका हुन् ।

मन्त्रालयका अनुसार गृहका सहसचिव किरण थापालाई कैलालीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। कैलालीका प्रजिअ खगेन्द्र रिजाललाई मन्त्रालयमा तानिएको छ।

यस्तै गृहका सहसचिव जगन्नाथ पन्त पाल्पा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत वेदनिधि खनाललाई सिन्धुपाल्चोकको प्रजिअ तोकिएको छ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकाल विपद् जोखिम प्राधिकरणमा तानिएका छन् । उनको ठाउँमा कारागार व्यवस्थापन विभागका निर्देशक वेदनिधि अधिकारीलाई पठाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी मुस्ताङका प्रजिअ श्रीनाथ पौडेलको ठाउँमा उपसचिव नेत्र शर्मालाई पठाइएको छ भने पौडेललाई रोल्पा प्रजिअको जिम्मेवारी दिइएको छ । अर्घाखाँचीका प्रजिअ विष्णु पौडेल मन्त्रालयमा तानिएका छन भने उनको ठाउँमा गृहका सहसचिव हरिप्रसाद घिमिरेलाई जिम्मेवारी दिइएको छ ।

स्याङजाका प्रजिअ दीपकराज नेपाललाई मन्त्रालयमा ल्याएर उपसचिव राजुप्रसाद पौडेललाई स्याङजाको प्रजिअको जिम्मेवारीमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।