कपिलवस्तु,३१ असोज ।
बिगत एक हप्ता अघिदेखि कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला अझै पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।

कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा फैलिएको झाडापखालाका कारण तीन बालबालिकासहित चार जनाकाे मृत्यु भइसकेको छ ।

बहादुरगञ्जस्थित शिवराज अस्पतालमा उपचारका लागि झाडापखालाका बिरामीहरु आउने क्रम रोकिएको छैन । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट महेश चौधरीका अनुसार अहिले पनि दिनहुँ दुई दर्जन बढी झाडापखालाका बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।

अस्पतालमा हाल उपचाररत झाडापखालाका बिरामीहरुको संख्या १९ रहेको उनलेे बताए । अस्पतालमा उपचारका लागि आउने झाडापखालाका बिरामीहरुको संख्या ८७४ पुगेको र सिकिस्त भएका ४१ जनालाई अन्य अस्पतालमा रिफर गरेको अस्पतालले जनाएको छ ।

सुरुवातमा झाडापखालाका बिरामीहरुको संख्या ह्वात्तै बढेपछि शय्या अभावमा अस्पतालको आँगनमा राखेर बिरामीहरुको उपचार गरिएकाे थियो ।

झाडापखाला प्रभावित क्षेत्रको पानीको नमूना परीक्षण गर्दा एउटा नमूनामा दिसामा पाइने इकोली नामक जिवाणु फेला परेको थियो । गत शुक्रबार काठमाडौंको टेकुस्थित प्रयोगशालामा परीक्षण गर्न लगिएका नमूनाको विस्तृत रिपोर्ट भने अझै सार्वजनिक गरिएको छैन ।

झाडापखालाको कारण दूषित पानी र सरसफाइको अभाव भएको प्रारम्भिक अध्ययनबाट देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । प्रभावित गाउँका बासिन्दाले ओभरहेड टंकीमार्फत वितरित धारा र ह्याण्डपम्पको पानी प्रयोग गर्दै आएका छन् । तर कुन धाराको पानी दूषित हो भन्ने यकिन भइसकेको छैन ।