काठमाडौं,११ असाेज । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को सिफारिसानुसार राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ खारेज गरेकी हुन् ।

केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएर दल विभाजन गर्न सकिने व्यवस्थासहित गत भदौ २ गते अध्यादेश जारी भएको थियो ।

राजनीतिक दल सम्बन्धी ऐनमा रहेको दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सदस्य हुनुपर्ने प्रावधान परिवर्तन गरी अध्यादेशमार्फत केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत हुनुपर्ने प्रावधान बनाइएको थियो । अध्यादेशको सुविधा उपयोग गरी नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन गरिएको छ ।

तर अध्यादेश कायमै रहेको अवस्थामा जनता समाजवादी पार्टी पुनः फुट्ने चर्चा भइरहेको थियो । महन्थ ठाकुरको नेतृत्वमा भएको यसअघिको विभाजनका बेला जसपामै रहेकाहरुले मन्त्रिपरिषद् विस्तारका बेला अवसर नपाएमा कतिपय सांसद्ले पुनः विभाजन गर्ने तयारी गरिरहेको समाचार सार्वजनिक भइरहेका थिए । दल विभाजनको सम्भावना रहेकाले जसपाले सरकारमा सहभागी हुनका लागि अध्यादेश खारेजीको सर्त राख्दै आएको थियो ।

जसपाकै दबाबपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेजका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।