लुम्बिनी,११ असोज ।
विश्व पर्यटन दिवस लुम्बिनीमा पनि बिभिन्न कार्यक्रमको आोजना गरी मनाइएको छ ।

सो अवसरमा भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन तथा ध्यान गरेर मनाइएको हो ।

कार्यक्रममा लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले कोषले बिभिन्न क्षेत्रमा लुम्बिनीको प्रवद्र्धन गरि रहेको भन्दै पर्यटकको बसाई अवधि लम्ब्याउन गुरुयोजनालाई अन्तिम रुप दिन लागी परेको बताए ।

त्यस्तै लुम्बिनी बिकास कोषका सूचना अधिकृत हरिध्वज राईले विश्वशान्तिको मुहानको रुपमा लुम्बिनीमा आउने पर्यटकले शान्तिको अनुभूत गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

विकास कोषका कर्मचारी,टुरिष्ट गाइड,रिक्सा तथा ट्याक्सि चालक,होटल व्यवसायी लुम्बिनीको सम्पूर्ण पक्षको ब्यवहार नरम हुनु पर्ने उनको भनाई छ ।

लुम्बिनी आउने पर्यटकले सौहार्दता खोजेको बताउदै उनले लुम्बिनीको भलो चहाने सबै पक्षले आ आफ्नो ब्यवहारमा लचकता अपनाउनु पर्ने आवस्यकता औल्याए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, ,स्थानीय पर्यटन ब्यवसायी
लिलामणी शर्मा लगायतले लुम्बिनी क्षेत्रको विकासका बिषयमा आ आफ्नो भनाई राखेका थिए ।

विश्व पर्यटन दिवसको अवसर पारेर लुम्बिनी बिकास कोषले भारतीय पर्यटक तथा पत्रकारहरुलाई समेत बोलाएर लुम्बिनी भ्रमणको लागी सन्देश दिएको छ ।

विश्व पर्यटन दिवसको अवसरमा लुम्बिनी विकास कोषले भारतीय पत्रकारहरुलाई आमन्त्रण गरेर स्वागत गर्नुका साथै लुम्बिनी क्षेत्रको अवलोकन गराएको थियो ।

कोभिड–१९ को महामारीका कारण लामो समय बन्द रहेर हालै मात्रै खुला गरिएको लुम्बिनीमा पछिल्लो समय पर्यटकीय चहलपहल सुरु भएको छ । कोरोनाको कहरले बन्द भएका मन्दिरहरु विस्तारै खुल्न थालेपछि लुम्बिनीमा पर्यटकको आगमन सुरु भएको हो ।

लुम्बिनी खुल्ला रहेपनि प्रचार प्रसारको कमीका कारण पर्यटकहरुको संख्यामा भने कमी आएको स्थानीय पर्यटन व्यवसायीको गुनासो छ ।

स्थानीय नागरिक अगुवा तथा होटल व्यवसायी अकरम खानले बौद्ध धर्मलाम्बीहरुले मनाउने बिभिन्न धार्मीक कार्यहरुको प्रचार प्रसार गर्न आवस्यक रहेको बताए ।

‘शान्तीको मुहान लुम्बिनीमा घुमघामको लागि मात्र होईन ध्यान र मनशान्त पार्नको लागि पनि मानिसहरु घुम्न आउने गर्छन । बौद्ध धर्मलाम्बीहरुले जिवनमा एकपटक लुम्बिनीमा गए पाप नाश हुने मान्यता राख्छन । त्यसैले विश्वरभरका बौद्धमार्गीहरु लुम्बिनीमा आउने गर्दछन । विपासाना , वर्षावास , चिवर उत्सव जस्ता पर्वहरु बौद्धमार्गीहरुले लुम्बिनीमा आएर मनाउने गर्दछन । यि पर्वहरु कसरी मनाईन्छ भनेर प्रचार प्रसार गर्न सके मात्र विदेशका पर्यटकहरुलाई लुम्बिनीमा भित्राउन सकिन्छ’ – उनले भने ।