बुटवल,९ असाेज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा दर्ता भएको सञ्चार विधेयक फिर्ता गर्न सकिने बताएका छन् ।

नेपाल पत्रकार महासंघ रूपन्देहीद्वारा आइतबार आयोजना गरेको उत्कृष्ट वातावरण पत्रकारिता पुस्कार बितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले उक्त कुरा बताएका हुन् ।
संसदमा दर्ता भइसकेको विधेयकलाई पुनर्लेखन गर्न कानूनी जटिलता हुने भन्दै मुख्यमन्त्री केसीले बरु विधेयक फिर्ता नै गर्न सकिने बताए । प्रदेशसभा विधेयकहरुको चाङ रहेकाे भन्दै उनलेे त्यस्तो अवस्थामा पुनलेखन गरेर अगाडी बढ्न सम्भव नरहेको उल्लेख गरे ।

साथै प्रतिपक्षले संसद अवरोध गरिरहेकाले पनि उक्त विधेयकलाई प्रदेशसभाबाट पारित गर्न कठिनाई रहेको भन्दै यसलाई शंसोधन वा पुनर्लेखन भन्दा पनि फिर्ता लिन तयार रहेको बताए । विधेयकका बारेमा के गर्ने भन्ने सम्बन्धनमा पत्रकार महासंघले भनेकै आधारमा प्रदेश सरकार अगाडी बढ्ने उनले प्रतिवद्धता व्यक्त गरे ।