काठमाडौं,१० असोज । नेपालमा आइतबार थप ८३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ५८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १०४ गरी ८३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९१ हजार ३९२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २७९ जना काेराेना संक्रमित निको भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ७ लाख ६१ हजार १५४ जना संक्रमित निकाे भएका छन् भने ११ हजार ९६ जना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १४२ जना रहेकाे छ । जसमध्ये १७ हजार ८१३ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३२९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३६८ जना आईसीयू र १२० जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।

यस्तै १० वर्ष मुनिका २२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

आज कुन जिल्ला कति जनामा संक्रमण ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौं २३२, कास्कीमा ८४, झापामा ७८, मोरङमा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै रुपन्देहीमा ३१, सुनसरी र ललितपुरमा २४/२४ जना, भक्तपुरमा २३, चितवनमा २२, कैलालीमा 14 र इलाममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।