बुटवल,१० असाज । नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तरगत शनिबार सम्पन्न पालिका अधिवेशनबाट अरघार्घाखाँची नेतृत्वमा देउवा ( संस्थापन ) पक्ष निल भएको छ ।
संस्थापन पक्षीय कांग्रेस नेतृ पुष्पा भुसाल र मानबहादुर विकको गृहजिल्ला अर्घाखाँचीका ५ पालिकामा पौडेल समूहको विजयी भएका छन् भने बाँकी रहेको पालिकामा समेत पौडेल पक्षकै सभापतिका उम्मेदवार अग्र पङ्तिमा रहेका छन् ।

६ पालिकामध्ये ५ पालिकामा भएको निर्वाचनमा शेरबहादुर देउवा समूह निल भएको हो । ४ पालिकामा नेता रामचन्द्र पौडेल समूह विजयी भएको छ भने एक पालिकामा निर्वाचित सभापति आफू कुनै समूहमा नरहेको जनाएका छन् । पाणिनि गाउँपालिकामा विजयी तुल्सी पौडेल आफू कुनै समूहमा नरहेको बताएका छन् । दुवै समूहले उनलाई आफ्नो दावी गरेपछि उनलेे आफू कुनै पक्षको नभएको बताएका हुन् ।

यद्यपी देउवा समूहकै एक नेताले उनी पौडेल समूहको भएको स्वीकार गरे । पौडेल समूहको तर्फबाट सन्धिखर्क नगरपालिकाको सभापतिमा बाबुराम भुसाल, भुमिकास्थान नगरपालिकाको सभापतिमा खडानन्द बेल्वासे, छत्रदेव गाउँपालिकामा प्रकाशराज पन्थी, र मालारानी गाउँपालिकामा शोभाखर खनाल निर्वाचित भएका छन् । छत्रदेव, मालारानी र पाणिनि गाउँपालिकामा सर्वसहमत रुपमा नेतृत्व चयन भएको हो भने अरुमा चुनाव भएको थियो । सन्धिखर्कको नगर सभापतिमा लिलाधर बस्याललाई ३० मतले पराजित गर्दै बाबुराम भुसाल निर्वाचित भए ।

भुमिकास्थानको सभापतिमा निकटतम प्रतिद्वन्द्वी खिमकुमार श्रेठलाई २७ मतले पराजित गर्दै खडानन्द बेल्वासे निर्वाचित भए । सन्धिखर्कमा निर्वाचित भुसालले १५५ मत पाएका थिए भने भुमिकास्थानमा निर्वाचित भएका बेल्वासेले १०३ मत प्राप्त गरेका थिए । जिल्लामा पौडेल समूह बलियो रहेको कांग्रेस नेताहरुले बताएका छन् । नेतृत्व चयन हुन बाँकी रहेको शितगंगा नगरसभापतिमा पौडेल समूहकै मोहन पन्थी र मोती बेल्वासे चुनावी मैदानमा छन् । उक्त पालिकामा आज निर्वाचन भइरहेको छ ।

जिल्लामै स्थापन पक्ष निल हुनुमा संस्थापन पक्षले यसअघिका निर्वाचनमा टिकट बितरणमा गरेको पक्षपातपूर्ण व्यवहारकाे परिणामको रूपमा अर्घाखाँची कांग्रेसमा चर्चा छ ।
संस्थापन पक्षले पार्टी काममा खटिने भन्दा पनि नेताकाे पछि लाग्ने व्यक्तिलाई टिकट दिएको भन्दै स्थापन इतर पक्ष अस्नतुष्ट रहेको थियोे ।