लुम्बिनी,१ असाेज । महामानव गौतम बुद्धको जन्म स्थल लुम्बिनी खुलेसँगै लुम्बिनीमा चहलपहल सुरु भएको छ ।
मुलुककै प्रमुख पर्यटकीय गन्तव्यस्थल लुम्बिनीको मायादेवी मन्दिर लामो समयसम्म बन्द हुँदा लुम्बिनी सुनसान भएको थियोे ।
काेराेना भाइरसकाे संक्रमणकाे जाेखिम कम भएसँगै मन्दिर खुलेकाेले अब स्वदेशी र विदेशी पर्यटक, तीर्थयात्री र श्रद्धालुहरू मन्दिर अवलोकन गर्न सक्ने लुम्बिनी विकास काेषले जनाएको छ ।
१० दिन अघि नै मन्दिर खुलेसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद के.सी ‘‘सोनाम’ ले शनिबार विहान ८ः०० बजे लुम्बिनी भ्रमण, मायादेवी मन्दिरको दर्शन एवम् पूजाआजा गर्ने कार्यक्रम रहेको लुम्बिनी विकाष कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीले जानकारी दिए ।
मन्दिर खुलाभएसँगै लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल बढेको ज्ञवालीले बताए । हाल मन्दिरमा आन्तरिक पर्यटककाे आगमन बढी रहेको छ ।
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्यटकलाई मन्दिर प्रवेश खुला गरिएको कार्यकारिणी सदस्य ज्ञवालीले जानकारी दिए । डेढ–डेढ मिटरको दूरीमा लाइन लगाएर शरीरको तापक्रम नापी प्रवेश दिइएको छ । सेनिटाइजर र मास्क नलगाई आउनेलाई प्रवेश निषेध गरिएको काेषले जनाएको छ । मायादेवी मन्दिर र मन्दिर परिसरमा रहेका अशोक स्तम्भ, पुष्करणी पोखरी, स्तुप, बिहारका भग्नावशेष र प्राचीन इनार अवलोकन गरी पर्यटक फर्कने गरेका छन् । ध्यानमा रुची हुने व्यक्तिहरू ध्यानसमेत बस्ने गरेका छन् ।
मायादेवी मन्दिर खोल्न यहाँका पर्यटन र होटल व्यवसायीले दबाब दिएका थिए । मन्दिर पूर्ण रूपमा सञ्चालन गर्न कोषले आन्तरिक तयारी पूरा गरेको जनाएको छ । कोरोना भाईरस संक्रमणको दोस्रो लहर फैलिएसँगै गत बैशाख १६ गतेबाट मन्दिर पूर्ण बन्द गरिएको थियो ।