काठमाडौं,९ साउन ।
नेपाली कांग्रेसको तल्लो तहको अधिवेशन स्थगित गरिएको छ ।

शनिबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकाे निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले साउन १२ गतेदेखि हुने तल्लो तहका अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।

भदौ १६ देखि १९ गतेसम्म हुने केन्द्रीय महाधिवेशनको मिति भने यथावत रहने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रवक्ता शर्माले महाधिवेशन कार्यतालिका प्रभावित भएपनि भदौ १६ देखि सुरु हुने केन्द्रीय महाधिवेशनका बारेमा कुनै निर्णय नभएको बताए । ‘वडा अधिवेशन स्थगन हुनुको अर्थ केन्द्रीय महाधिवेशन पनि सर्छ भन्ने होइन,’ उनले भने, ‘अहिले केन्द्रीय महाधिवेशनको मिति यथावत नै छ ।’

वडा अधिवेशन स्थगन भएसँगै कांग्रेसको महाधिवेशन कार्यतालिका पनि प्रभावित भएको छ । कांग्रेसले १२ साउनमा वडा अधिवेशन, १६ साउनमा स्थानीय तहको अधिवेशन, २० साउनमा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन गर्न गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।

त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २३ साउन, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन, प्रदेश अधिवेशन १ र २ भदौ र केन्द्रीय महाधिवेशन १६–१९ भदौमा हुने कार्यतालिका थियो ।

क्रियाशील सदस्यताको काम कार्यतालिका अनुसार नहुँदा महाधिवेशन प्रभावित भएको हो । शनिबार सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले अहिलेसम्म समितिले गरेका कामको बारेमा जानकारी गराएका थिए ।यही साउन १२ गते बिहान सभापति देउवालाई क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन बुझाउनेछन् ।

त्यसपछि केन्द्रीय समितिमा छलफल हुने प्रवक्ता शर्माले बताए ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजय कुमार गच्छदार, महामन्त्री शशांक कोइराला, सह-महामन्त्री प्रकाश शरण महत, कोषाध्यक्ष सीतादेवी यादव सहभागी थिए ।

यस्तै, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रामशरण महत, गृहमन्त्री तथा प्रमुख सचेतक बालकृष्ण खाँण, प्रवक्ता शर्मालगायत सहभागी थिए ।