बुटवल,१९ जेठ । लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन (आठाैँ अधिवेशन) आजदेखि शुरु हुँदैछ ।
आज दिउँसो १ बजेदेखि शुरू हुने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र दलका तर्फबाट शुभकामना मन्तव्य राख्ने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

गत वर्ष ३६ अर्ब ३५ करोडको बजेट ल्याएको लुम्बिनी प्रदेश सरकारले यो वर्ष पनि त्यही हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।
यस वर्ष कोरोना नियन्त्रण तथा कोरोनाले पारेको आर्थिक मन्दीलाई चलायमान बनाउन बजेटले प्राथामिकता दिने लुम्बिनीको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
आजको बैठकमा विपक्षी दलहरुले भने मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गर्ने तयारी गरेका छन् । कोरोना महामारी नियन्त्रणदेखि मुख्यमन्त्रीको राजीनामा सम्मको कुरा बैठकमा उठाउने विपक्षी नेताहरुले बताएका छन् । जालझेल गर्दा पनि प्रदेश सभामा मुख्यमन्त्री पोखरेल बहुमतको अवस्थामा रहन नसकेको ठहर गर्दै विपक्षी गठबन्धनले मुखमन्त्री पाेखरेलको राजिनामा माग गर्ने बताइएको छ ।

गएको बैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता गरेकोमा मुख्यमन्त्री पोखरेलले बैशाख १९ गते बोलाइएको संसद बैठक बस्न नपाउदै अर्कै बाटोबाट मुख्यमन्त्री नियुक्त भएपछि विपक्षी दलहरू तीव्र असन्तुष्ट रहदै आएका छन् । दोश्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएकोमा त्यसलाई पनि संसद्मा प्रवेश गराइएको छैन । एमाले अल्पमतमा परेको अवस्थामा जनता समाजवादी पार्टीका सांसदहरूलाई मन्त्री नियुक्त गरेर आफ्नो पक्षमा ल्याउँदासमेत मुख्यमन्त्री अल्पमतमा रहेका छन् ।

प्रदेश सभामा ठूलो दलको हिसाबले मुख्यमन्त्री बन्ने सुविधा भए पनि पाेखरेल साे प्रक्रिया पूरा नगरी मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
लुम्बिनी प्रदेशको प्रदेश सभामा एमालेका ३८, कांग्रेसका १९, माओवादीका १९ (सभामुखसहित), अल्पकालिन आदेशबाट सांसद् पद पाएका ४ जनासहित जसपाका ६ र राष्ट्रिय जनमोर्चामा एक सांसद रहेका छन् ।