गाउपालिकाले बिपक्षीदलहरुलाई बेवास्ता गरेको आरोप

बुटवल,८ चैत ।
सर्बपक्षिय अनुगमन टोलीको गठन गरी अनुगमन कार्यलाई पारदर्शी बनाउनु पर्ने माग गर्दै रुपन्देहीको कञ्चन गाउपालिकाका बिपक्षी राजनीतिक दलहरुले गाउपालिकामा ज्ञापनपत्र बुझएका छन् ।

गाउपालिकाद्धारा सञ्चालित विकास निर्माण योजनामा उपभोक्ता भेला नै नगरी एक पक्षिय रुपमा उपभोक्ता समिति गठन गरेको र योजनाको अनुगमनमा बिपक्षी राजनैतिक दलहरुलाई बेवास्ता गरिएको भन्दै गाउपालिकामा क्रियाशील राजनैतिक दलहरुले आएतबार अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीलाई ज्ञापनपत्र बुझएका हुन् ।

ज्ञापनपत्र बुझाउदै नेपाली कांग्रेस कञ्चन गाउ कार्य समितिका उपसभापति यम बहादुर क्षेत्रीले कञ्चनमा हुने हरेक भौतिक पुर्वाधार तथा अन्य बिकासमा कञ्चनमा क्रियाशिल सबै राजनैतिक दल र बिभिन्न संघसंस्थाहरुको भूमिका महत्वपूर्ण हुने भए पनि स्थानीय सरकारले बिपक्षी दल र सरोकारवालाहरुसंग कुनै सरोकार र सहकार्य नगरेकोले ज्ञापनपत्र बुझाएको जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का पुष्पराज शर्माले एक स्थानिय तहमा एक खेल ग्राम निर्माण गर्ने उद्धेश्य अनुरुप कञ्चन ३ अन्तर्गत धमिनातालमा रहेको गुराँस खेल मैदानलाई कञ्चनको व्यबस्थित खेलग्रामको रुपमा बिकास गर्न बिस्तृत परियोजना प्रस्ताव (डिपिआर) बनाई संघबाट २५ लाख बजेट बिनियोजन भएको तर सो खेल मैदानमा खेलग्राम बनाउन स्थानीय खेलप्रेमी तथा उपभोक्ताहरुसंग कुनै छलफल र समन्वय नगरी उपभोक्ता समिति गठन नगरी मापदण्ड बिना खेलकुद पुर्वाधार बनाइएको दाबि गरे ।

कञ्चनका बिभिन्न निर्माण तथा योजनाहरुको अनुगमन गर्दा गाउपालिकाले एकतर्फी रुपमा अनुगमन गर्दै आएको र योजनाहरुको गुणस्तरियतामा ध्यान नदिएको भन्दै उनले बिपक्षी दल र सरोकारवालाहरु सहितको सर्बपक्षिय अनुगमन टोली बनाउनु पर्ने माग गरे ।

ज्ञापनपत्र बुझाउन नेपाली कांग्रेसका प्रेमचन्द्र पोख्रेल,राष्ट्रिय जनमोर्चाका लिलाराम खनाल,बिन्दु कुवँर,नेपाल कम्युनिष्ट पार्टी (क्रान्तीकारी) का शेर बहादुर राना,राष्ट्रिय जनमुक्ती पार्टीका रुम बहादुर फौजा, राम बहादुर थापाको समेत सहभागिता रहेको थियो ।