बुटवल,५ कार्तिक ।
कञ्चन जेसिजले कोरोना भाइरसको संक्रमण रोकथाममा अग्रपंक्तीमा कार्य गर्दै आईरहेका स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको जोखिमका बावजुद पनि सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक सेवामालाई निरन्तर अगाडी बढाइरहेको कञ्चन जेसिजले एक कार्यक्रमका बीच स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर बस्नेतले जनताको सेवामा कार्य गर्ने कुनै पनि कर्मचारीको मनोवल बढाउन गरिने सम्मान कार्यक्रमको सराहना गरे ।

कञ्चन जेसिजका संस्थापक अध्यक्ष चुडामणी पौडेलले सेवामा आधारित संस्थामा आवद्ध जेसिज युवाहरु हरेक पल आफ्नो ब्यक्तित्व बिकास संगसंगै समाजमा ब्याप्त बिकृति र बिसंगती बिरुद्ध हातेमालो गर्दै समाजमा महत्वपुर्ण योगदान पुर्याउने ब्यक्तित्वहरुको सम्मान गर्नुले वहाँहरुमा सेवाको भावना अझ जागृत भएर आउने बिश्वास व्यक्त गरे ।

कार्यक्रममा कञ्चन जेसिज बर्ष २०२० का अध्यक्ष बाबुराम पौडेलले जसरी युद्धको समयमा सिपाहीले बिजयका लागि जुन सपना र लक्ष्य लिएको हुन्छ त्यसरी नै स्वास्थ्यकर्मीहरुले कोरोना महामारीलाई नियन्त्रण र रोकथामका लागि आम नागरिकलाई स्वाथ्यको पुर्ण अनुभुति गराउन घरघरमा पुगेका स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्न पाउदा खुसी लागेको बताए ।

कञ्चन गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले कञ्चनमा कोरोना भाइरसको संक्रमण रोकथाम र न्युनिकरण गर्न नेपाल सरकार र स्थानिय सरकारसँगको समन्वयमा आफ्नो स्वास्थ्य,परिवार,भोक,प्यास केही नभनी स्वास्थ्यकर्मीहरु लागि परेको भन्दै सो कुरा कञ्चन जेसिजले मुल्यांकन गरेकोमा आभार प्रकट गरे ।

महासचिव चित्र तुलाचनको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष सुमन सुवेदीले आस्थापाठ र कानुनी सल्लाहकार राधिका चौधरीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।