बुटवल, ५ कार्तिक ।
तिलोत्तमा नगरपालिकाले होम आइसोलेसनमा मृत्यु भएका तिलोत्तमाका एक कोरोना संक्रमितको शव व्यवस्थापन गरिदिएको छ ।

निर्णय गरेकै अर्को दिन बुधबार तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमितको शव व्यवस्थापन गरिदिएको हो ।

सरकारले होम आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितको शवको व्यवस्थापन परिवार आफैले गर्नुपर्ने निर्णय गरेपछि तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमित नगरवासीको शवको व्यवस्थापन नगरपालिकाले गरिदिने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार बुधबार मृत्यु भएका कोरोना संक्रमित पुरुषको शव नगरपालिकाकै खर्चमा व्यवस्थापन गरिएको नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत गणेश गौतमले जानकारी दिए । तिलोत्तमा नगरपालिका वडा नं. ५ निवासी ४७ बर्षका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । लामो समयदेखि श्वासप्रश्वास, उच्च रक्तचापको समस्या रहेका उनी ७ दिन देखि होम आइसोलेसनमै रहेका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार बिहान क्रिमसन अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । मृत्यु भएपछि शंकरनगर सामुदायिक वन क्षेत्रमा नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले शव व्यवस्थापन गरेको सिनियर अहेव अधिकृत गौतमले बताए । यससँगै तिलोत्तमामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

तिलोत्तमाले कन्ट्रयाक्ट ट्रेसिङमा परेका नगरबासीको पहिलो पटकको पिसिआर परीक्षण समेत निःशुल्क गर्ने निर्णय गरेको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाले शव व्यवस्थापन गर्दै आएकोमा संघीय सरकारले होम आइसोलेसनमा मृत्यु भएका संक्रमितको शव व्यवस्थापन परिवार आफैले गर्नुपर्ने भनेपछि नगरपालिकाले पहिलोपटक शव व्यवस्थापन गरेको हो ।

नगरस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको मंगलबारको बैठकले कोरोना संक्रमणबाट नगरबासीको मृत्यु भए शव व्यवस्थापनको जिम्मा नगरपालिकाले लिने निर्णय गरेको थियो ।