काठमाण्डौ,५ कार्तिक ।
कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । कोरोना भाईरसका कारण लामो समयसम्म रोकिएको मंसिर १२ बाट सञ्चालन हुने तयारी भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले बताए ।

परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म संचालन हुनेछ । वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित भएको थियो ।
बोर्डले कक्षा १२ को परीक्षा होम सेन्टर (पढेकै स्कुल) मा ‘फेस टु फेस’ रुपमा सञ्चालन गर्ने तयारी गरेको हो ।

दुई साताअघि बसेको मन्त्रिपरिषद् बैठकले कक्षा १२ लगायत स्थगित भएका परीक्षा सञ्चालन गर्न अनुमति दिएपछि बोर्डले परिक्षा तालिका सार्वजनिक गरेको हो ।
स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्दै प्रत्येक कोठामा निश्चित परीक्षार्थी राखेर परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ ।

प्रत्येक विषयको सैद्धान्तिकतर्फ ४० प्रतिशतको छोटो परीक्षा, ४० प्रतिशत बराबर कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा मान्यता दिने गरी कार्यबिधि तयार भएको बोर्डले जनाएको छ । प्रयोगात्मक परीक्षा भने पहिले जस्तै यथावत् रहनेछ ।

विद्यालयले सञ्चालन गरेको प्रयोगात्मक परीक्षाको अंक बोर्डमा पठाउनुपर्नेछ । ४० प्रतिशतको छोटो परीक्षाका लागि बोर्डले देशभर होम सेन्टर कायम गरेर एकै पटक सञ्चालन गर्ने तयारी गरेको छ ।

विद्यार्थीको हाजिरी, विद्यालयले सञ्चालन गरेको परीक्षा, गृहकार्य, अतिरिक्त क्रियाकलापका आधारमा आन्तरिक मूल्यांकन गरिनेछ । कोरोना संक्रमणका कारण वैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा सञ्चालन हुन सकेको छैन ।

कक्षा १२ को परीक्षा नहुँदा विश्वविद्यालयहरूमा स्नातक तहको भर्ना र पठनपाठन प्रभावित भएको छ । विगतमा दसैंअघि नै कक्षा १२ को नतिजा प्रकाशन भएर भर्ना प्रक्रिया सुरु भइसक्थ्यो । कक्षा १२ मा ४ लाख ३२ हजार परीक्षार्थी रहेका छन् ।