काठमाडौं,२७ असोज ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा छठलगत्तै सञ्चालन गर्ने तयारी भएको जनाएको छ । मन्त्रिपरिषदले परीक्षा लिने बाटो खुलाइदिएकाले छठलगत्तै परीक्षा सञ्चालन गर्ने तयारी भएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।

‘मन्त्रिपरिषदले परीक्षा लिने बाटो खुलाइदिएका छ,’ पौडेलले भने, ‘छठलगत्तै परीक्षा लिनेगरी तयारी थालेका छौँ ।’
मन्त्रिपरिषद बैठकले शिक्षा मन्त्रालयको सिफारिसमा आयोग, विश्वविद्यालय, बोर्ड, प्रतिष्ठान र विद्यालयलाई सबै तहको परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो ।

बोर्ड अध्यक्ष पौडेलले परीक्षा तालिका र मोडालीटीबारे एक–दुई दिनमा निर्णय सार्वजनिक गरिने बताए ।

यसअघि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा मोडालिटीबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुई विकल्प पेश गरेको थियो । जसमा पहिलो विकल्पमा परम्परागत रुपमा नै चरणबद्ध परीक्षा लिइने उल्लेख छ ।

जसमा कोरोना महामारी कम भएका जिल्लाहरुमा भौतिक दूरी कायम राखेर तथा स्वास्थ्यका मापदण्ड पुरा गरेर परीक्षा लिइनेछ। दोस्रो विकल्पमा १०० पूर्णांकको लिखित परीक्षा नलिइ केही प्रतिशत लिखित र केही प्रयोगात्मक लिने सुझाव पनि पेश गरेको थियो ।