बुटवल,२७ असाेज ।
प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष, वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंले लुम्बिनी प्रदेशमा विज्ञापन नीतिमा देखापरेको समस्या र व्यवहारमा देखिएको एकलौटी, अपारदर्शी र पक्षपातलाई अन्त्य गर्न मुख्यमन्त्री शंकर पोखरेललाई आग्रह गरेका छन् ।

बुटवलबाट प्रकाशित दैनिकपत्र दैनिकका प्रधान सम्पादक समेत रहेका चापागाईंले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी लुम्बिनी प्रदेशमा विज्ञापन नीतिमा देखापरेको समस्या र व्यवहारमा देखिएको एकलौटी, अपारदर्शी र पक्षपातलाई अन्त्य गर्न मुख्यमन्त्री शंकर पोखरेललाई आग्रह गरेका हुन् ।

सामाजिक न्याय र समानतामा आधारित भई लुम्बिनी प्रदेशभित्रका सबै मिडियालाई विज्ञापन उपलब्ध हुने वातावरण मिलाउन मुख्यमन्त्री पाेखरेलकाे ध्यानाकर्षण समेत गराएका छन् ।

पत्रकारिता पेशालाई मूल आधार बनाई संस्थागत र व्यवसायिक रुपमा लामो समयदेखि चलि आएका लुम्बिनी प्रदेश भित्रका मिडिया यतिबेला प्रदेश सरकारको विज्ञापन सम्बन्धी स्पष्ट नीति नहुँदा निकै ठूलो संकटमा परेको जनाउँदै विज्ञप्तिमा मुलुक संघीयतामा गएपछि प्रदेश सरकारबाट अपेक्षा मिडियाले
जुन प्रकारको सदासयपूर्ण र सहयोगात्मक भावनाकाे अपेक्षा गरेका थिए ,त्यस अनुसारको व्यवहार नगरेकाेे उल्लेख गरिएको छ ।

प्रदेश सरकार अन्तर्गतका विभिन्न निकाय र तहका विज्ञापनहरु पारदर्शी र सामाजिक न्यायका आधारमा मिडियाहरुलाई उपलब्ध गराउनु पर्नेमा अपारदर्शी, पक्षपात र एकलौटी रुपमा निहीत स्वार्थमा आधारित भई नाकाबन्दी गर्ने जस्तो व्यवहार देखा परेकोले भन्दै विज्ञप्तिमा त्यस प्रकारको व्यवहारबाट लुम्बिनी प्रदेशका मिडियाहरु अत्यन्तै दुःखित भएको जनाइएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको लागि निष्ठापूर्वक योगदान दिएका मिडियाप्रति सद्भावपूर्ण र समान व्यवहार प्रस्तुत गर्नुपर्नेमा प्रदेश सरकारले त्यसको ठीक विपरीतकाे व्यवहार देखा पर्नु दुःखद पक्ष हो भन्दै विज्ञप्तिमा यस बिषयमा प्रदेश सरकारका मन्त्रीलाई वास्तविकताको बोध नभएर पनि यस्तो अवस्था आएको हुन सक्ने आशंका गरिएको छ ।

विज्ञप्तिमा भनिएकाे छ –‘ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल यस अघि नेपाल सरकारको सूचना तथा सञ्चारमन्त्री भई कुशलतापूर्वक कार्य सम्पादन गर्नु भए तापनि लुम्बिनी प्रदेशका मिडियाहरुमाथि परेको संघीयतापछिको समस्याका बारेमा मुख्यमन्त्री मौन देखिनुलाई मिडिया क्षेत्रले गम्भीर रुपमा लिएको छ । ’