काठमाडौँ,२५ असोज ।

नेपाली काँग्रेस (वीपी) ले मुलुकमा भ्रष्टाचार र सरकारका जनविरोधी क्रियाकलापका विरुद्व राष्ट्रव्यापी आन्दोलन घोषणा गर्ने निर्णय भएको छ ।

शुक्रबार सम्पन्न केन्द्रीय समितिको बैठकले मुलुकमा भ्रष्टाचार (वाइडबाडी, एनसेल, ३३ किलो सुन, ललिता निवास, ओम्नी, यति होल्डीङस लगाएत) र सरकारका जनविरोधी क्रियाकलापका विरुद्व राष्ट्रव्यापी आन्दोलन घोषणा गर्ने निर्णय गरेको पार्टीका सहमहामन्त्री तथा प्रवक्ता देवेन्द्र प्रकाश पौडेलले जानकारी दिए ।

बैठकले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेत समेटिएको नक्सालाई अन्तिमरुप दिन भारतसँग अभिलम्ब वार्ता गर्न र वार्ता हुन नसके अन्तराष्ट्रियकरण गर्न तथा हुम्ला लगाएत भारत र चिनसँग जोडिएका सिमासम्बधी विवाद समाधान गर्न अभिलम्ब छिमेकी मित्र राष्ट्रसँग संवाद गर्न माग गर्ने निर्णय गरेको प्रवक्ता पौडेलले बताए ।

गैरकानुनी ढंगले अंगिकृत नागरिकता वितरण भएको भन्दै सो पार्टीले अंगिकृत नागरिकता छानबिन आयोग गठन गरि गैरकानुनी नागरिकता खारेज गर्न समेत माग गरेको छ ।

आम निर्वाचनमा पराजित नेताहरुलाई चोर बाटो प्रयोग गरि राष्ट्रिय सभामा लगिएको बिषयमा सर्वोच्च अदालतमा मुद्दा दायार भएकोले संविधानको मूल मर्म अनुसार सहिरुपमा व्याख्या गर्न सर्वोच्च अदालतको ध्यानाकर्षण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

निर्मला पन्त, सम्झना कामी लगायत मुलुकमा भएका बलात्कार र बलात्कार पछि भएका हत्याका श्रृखंला अन्त्य गर्न दोषी पत्ता लगाई हँदै सम्मको कारबाही गर्न माग गर्दै बैठकले नेपाल सरकारले डा. गोबिन्द के. सी. सँग गरेको संझौता पूर्णरुपमा कार्यान्वयन गर्न तथा कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा पुनः नियुक्त गर्न माग गर्ने निर्णय गरेको प्रवक्ता पौडेलले जानकारी दिए ।