बुटवल,२४ असोज ।

बागमती प्रदेशका प्रदेश सभा सदस्य तथा प्रदेश सभाको शिक्षा स्वास्थ्य तथा कृषि समितिका सदस्य भिमसेन खत्रीले प्रदेश सरकारले आगामी दिनमा बनाउने पाठ्यक्रममा उमेर सुहाउँदो बृहत यौनीकता शिक्षालाई पाठ्यक्रममा समावेश गर्न पहल गर्ने बताएका छन् ।

नेपाल युवा संस्था सञ्जाल (आयोन) ले शुक्रबार आयोजना गरेको बागमती प्रदेशका पाठ्यक्रममा बृहत यौनीकता शिक्षा बिषयक अनलाईन छलफल कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य खत्रीले उक्त कुरा बताएका हुन् ।

उनले जन्म देखि मृत्यु सम्मका हरेक समयमा बृहत यौनीकता शिक्षाका कुरा एक आपसमा जोडिने भएकाले यौनीकता शिक्षाबिचार व्यक्त गरे ।

संघीय सरकारले तयार गरेको पाठ्यक्रममा कक्षा ९–१० मा स्वास्थ्य तथा जनसंख्या विषयलाई अनिवार्य बिषय बाट ऐच्छिक विषय बनाएकोमा आफु खुसी नरहेको बताउदै उनले हरेक मानिसको दैनिक जिवनमा आई पर्ने शिक्षा र स्वास्थ्यको विषयलाई अझ फराकिलो बनाउनु पर्नेमा ऐच्छिक बनाईएकोमा असन्तुष्टि जनाए ।

प्रदेश सरकारले बृहत यौनीकता शिक्षालाई पाठ्यक्रममा समावेश गर्न विभिन्न छलफल गरिरहेको भन्दै उनले आगामी दिनमा प्रदेश भित्रका १ सय १९ पालिकाका विद्यालयमा पठनपाठन हुने विस्वास व्यक्त गरे ।

कार्यक्रममा सहभागी हेटौडा उपमहानगरपालिका उपप्रमुख मिना कुमारी लामाले उपमहानगरपालिकाले औपचारीक कार्यक्रमसँगै अनैपचारीक रुपमा बृहत यौनीकता शिक्षाका कार्यक्रम अगाडी बढाएको बताइन् ।

विद्यालय तहमा पाठ्यक्रम मार्फत र विद्यालय बाहिर स्वास्थ्य संस्थाहरु मार्फत् यस्ता कार्यक्रमहरु सञ्चालन गर्न आवश्यकता बजेट विनियोजन समेत गरिएको उनले जानकारी गराइन् ।

सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका उपसचिव खुविराम अधिकारीले शिक्षा ऐनले प्रदेश सरकारलाई ऐच्छिक विषयको मात्र पाठ्यक्रम बनाउने अनुमति दिएकाले प्रदेश सरकारले अब बनाउने पाठ्यक्रममा विश्व स्तरीय प्रचलनका आधारमा कक्षागत रुपमा बृहत यौनीकता शिक्षालाई समावेश गर्ने बताए ।

हाम्रो समाजमा बृहत यौनीकता शिक्षा प्रतिको दृष्टिकोण खराब रहेको भन्दै शिक्षा निर्देशनालयले शिक्षकहरु लाई विभिन्न तालिम तथा छलफलका माध्यमबाट त्यस्ता खराब दृष्टिकोणमा परिवर्तन ल्याउन प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल युवा संस्था सञ्जालकी कार्यक्रम व्यवस्थापक सुस्मिता श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै अहिलेको पाठ्यक्रममा बृहत यौनीकता शिक्षा सम्बन्धी विषयवस्तुको अभाव रहेको बताइन् । बृहत यौनीकता शिक्षा यौन शिक्षा मात्र नभई समग्र स्वास्थ्य सँग जोडिएकाले हरेक उमेरका व्यक्तिलाई बृहत यौनीकता शिक्षा दिनुपर्नेमा उनले जोड दिइन् ।

बागमती प्रदेशका करिब ३० जना युवाहरुको सहभागिता रहेको सो कार्यक्रमको सञ्चालन नेपाल युवा संस्था सञ्जालका सदस्य खिमानन्द देबकोटाले गरेका थिए ।