बुटवल,२१ असोज ।
प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी उपत्यकामा राख्ने निर्णयले कानूनी रुपमै आधिकारीकता प्राप्त गरेको छ ।

मंगलबार बसेको प्रदेश ५ प्रदेश सभाको बैठकले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी उपत्यकामा राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको सूचना प्रदेश राज पत्रमा प्रकाशित भएपछि सो निर्णयले कानूनी मान्यता प्राप्त गरेको हो ।

प्रदेश सभा सचिवालयले आज बेलुका सूचना प्रकाशित गरी मिति २०७७÷६÷२० गते बसेको साविक प्रदेश ५ प्रदेश सभाको बैठकले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी उपत्यकामा राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको सूचना प्रदेश राज पत्रमा प्रकाशित भएको जानकारी गराएको हो ।

नेपालको संबिधानको धारा धारा २८८ को उपधारा २ बमोजिम प्रदेश ५ को नाम प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतबाट प्रदेशको राजधानी ‘राप्ती उपत्यका (देउखुरी) लाई र नेपालको संबिधानको धारा २९५ को उपधारा २ बमोजिम प्रदेश ५ को नाम ‘लुम्बिनी’
प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतबाट पारित भएको प्रदेश सभा सचिवालयद्धारा जारी सूचनामा जनाइएको छ ।

प्रदेशको नाम लुम्बिनी र राजधानी देउखुरी उपत्यका राख्ने प्रस्ताव प्रदेश सभाको दुई तिहाई बहुमतले पारित गरेको सूचना प्रदेश राजपत्रमा प्रकाशित भएपछि मुख्यमन्त्री शंकर पोखरेल,सभामुख पूर्णबहादुर घर्तीले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रदेशवासीमा शुभकामना तथा बधाई ज्ञापन गरेका छन् ।

संसदले पारित गरेका निर्णय तथा ऐन कानून राजपत्रमा प्रकाशित गरेपछि मात्रै कार्यान्वयनमा आउने प्रावधान रहेको छ ।