बुटवल, १५ असोज ।
कोभिढ १९ ले शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको सरोकारवालाहरुले गुनासो गरेका छन ।

सरकार वा राज्य संचालकहरु मुलुकको शिक्षालाई कसरी संचालन गर्ने भन्ने योजना नै दिन नसकेको भन्दै उनिहरुले लाखौ विद्यार्थीको भविष्यको वारेमा गम्भीर नहुनु चिन्ताको विषय भएको बताए ।

विहिवार बुटवलमा भएको सिकाई सहजिकरणका लागि अभिभावक शिक्षा विषयक कार्यक्रममा वोल्ने वक्ताहरुले सरकारले जारी गरेको सिकाई निर्देशिकालाई स्वयम सरकारले नै पालना गराउन नसकेको र सरकार नै सिकाई निर्देशिकाको सवालमा अन्यौलमा रहेको टिप्पणी गरे ।

सरकारले जारी गरेको सिकाई निर्देशिकालाई कहिले सरकारका शिक्षा मन्त्रीले पालना गर्नु भन्ने कहिले त्यसलाई तत्काल संचालन नगर्न निर्देशन गर्ने गरेकाले शिक्षा क्षेत्रमा थप अन्यौल बढेको उनिहरुले गुनासो गरेका छन ।

कार्यक्रममा रुपन्देही जिलला शिक्षा विकास समन्वय ईकाईका प्रमुख दिपेन्द्र ढकालले राम्रो विद्यालय र असल विद्यार्थी उत्पादन गर्न अभिभावकको महत्वपूर्ण भूमिका हुने बताए ।

सरकारले जारी गरेको सिकाई निर्देशिकालाई व्यवहारमा पालना गरेमा शैक्षिक क्षेत्रमा देखिएको अन्यौललाई केही भएपनि राहात प्रदान गर्न सकिने भन्दै उनले अभिभावक आफनो दायित्ववाट पन्छिन नहुनेमा जोड दिए ।

कार्यक्रममा नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभा भण्डारीले सरकारले जारी गरेको सिकाई निर्देशिकालाई व्यवहारमा पालना गर्न र प्रभावकारी रुपमा कार्यान्वयन गराउने सवालमा सरकारी पक्ष गम्भीर हुन जरुरी रहेको बताए ।

अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष घनश्याम पाठकले राज्य संचालकहरु मुलुकको शैक्षिक उन्नतीका सवालमा कती पनि जिम्मेवार नभएको ठिप्पणी गरे ।

कोभिडले थला परेको ७ महिना पुग्दा पनि सरकार मुलुकको शैक्षिक प्रणालीलाई कसरी संचालन गर्ने भनी ठोस नीती बनाउनु नसक्नु चिन्ताको विषय भएको उनले बताए ।

अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रमा शिक्षा पत्रकार समुहका केन्द्रिय उपाध्यक्ष कृष्ण मल्ल, हिसान रुपन्देहीका अध्यक्ष कृष्ण पौडेल,नेपाल शिक्षक संघका रुपन्देही अध्यक्ष कूल प्रसाद लामिछाने, प्याप्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देहीका सचिव विष्णुहरि ज्ञवाली लगायतले आ आफ्नो भनाई राखेका थिए ।