काठमाण्डौ,११ असोज ।
कोरोनाका कारण रोकिएका परीक्षाहरु छठपछि सञ्चालन गर्ने त्रिभुवन विश्वविद्यालयले तयारी गरेको छ ।

त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले कोरोनाका कारण रोकिएका परीक्षा छठलगत्तै सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोनाका कारण त्रिविले पूर्व निर्धारित समयमा परीक्षा सञ्चालन गर्न सकेको थिएन ।

परीक्षा सञ्चालनको लागि तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय भइसकेको त्रिविले जनाएको छ ।

पछिल्लो समय भदौको दोस्रो हप्तादेखि परीक्षा सुरु गरी दशैँअघि नै स्थगित सबै सेमेस्टरको परीक्षा गर्ने तयारी थियो । तर हुन सकेन । त्रिविका स्नातक तथा स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षा गएको चैत ७ गतेदेखि स्थगित छन् ।

छठपछि परीक्षा सञ्चालनका लागि आवश्यक तयारी भइरहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । दशैँअघि नै परीक्षाको कार्यतालिका सार्वजनिक गर्न सम्बन्धित डिन कार्यालयलाई पत्राचार गरिसकेको उनले बताए ।

घर पायक पर्ने ठाउँमा नै परीक्षा दिन पाउने व्यवस्था गरिएकाले भर्चुअल माध्यमबाट परीक्षा नहुने भएको छ । भौतिकरुपमा विद्यार्थीलाई उपस्थित गराएर परीक्षा लिने तयारी भएको परीक्षा नियन्त्रक जोशीले बताए ।

आवश्यक सुरक्षा सावधानी अपनाएर परीक्षा लिने तयारी भएको उनको भनाइ छ । उनले फाराम भरेकाको परीक्षा पहिले गर्ने र त्यसपछि अरु परीक्षा सञ्चालन गरिने जानकारी दिए । कोरोनाका कारण कतिपय विश्वविद्यालयले भने खुला किताब अर्थात् ओपन बुक गरेर भर्चुअल विधिबाट परीक्षा लिएका छन् ।
आउँदो माघ महिनासम्म सबै परीक्षा सकेर फागुन र चैतमहिनादेखि पढाइ सुरु गर्ने त्रिविको तयारी छ ।

दशैँ तिहार जस्ता चाडपर्व नजिकिएको बेला मानिसको जमघट धेरै हुने भएकाले कोरोनाको जोखिम बढ्न सक्छ । अथवा अवस्था जटिल हुन पनि सक्छ ।

अवस्था एकदमै जटिल भयो भने परीक्षा गर्नका लागि सोच्नु पर्ने अवस्था आउनसक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजारभन्दा बढी सक्रिय संक्रमितको संख्या भएमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ ।

फेरि पनि लकडाउन भयो भने भने विज्ञसँग छलफल गरेर कसरी परीक्षा सञ्चालन गर्ने, कुन विधि अपनाउने भनेर निर्णय हुने कार्यालयका नियन्त्रक जोशीले बताउनुभयो । तर स्थिति अहिलेको जस्तै भएमा भने परीक्षा सञ्चालन हुनेछन् ।

यस्तै अवस्थामा भने विद्यार्थीले आफूलाई पायक पर्ने ठाउँमा अर्थात् सबैभन्दा नजिकको केन्द्रबाट परीक्षा दिन पाउने भएकाले भौतिक दूरी कायम गरेर, मास्क लगाएर, स्यानिटाइजरको प्रयोग गरेर सावधानीपूर्वक परीक्षा दिन सक्नेछन् ।