बुटवल,१३ साउन ।
बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ ।
सोमबार रातिदेखि परेको पानीसँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको हो ।
घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ । सँगै सुतिरहेकी मृतककी आमा होमकुमारी विक गम्भीर घाइते भएकी छन् । पालबहादुर रोजगारीको सिलसिलामा विदेशमा छन् । घर क्षतविक्षत अवस्थामा रहेको बागलुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।
त्यस्तै निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले पुर्दा अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको छ ।

निसीखोला गाउँपालिकामै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेलापरेको छ । उनको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

यसैबीच रूकुम पश्चिममा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएका छन् । पहिराेबाट चार जनाको उद्धार गरिएको छ । 
जिल्लाकाे बाँफिकोट गाउँपालिका वडा नम्बर ९ स्यालामा आज बिहान खसेको पहिरोले हस्तबहादुर सुनारको घर बगाउँदा छिमेकी २२ वर्षका नविन सुनार र १६ वर्षका बलबहादुर सुनार बेपत्ता भएका हुन् ।

राति एउटै घरमा सुतेका ६ जनामध्ये चार जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

हस्तबहादुरकी आमा ६० वर्षकी झुपी र श्रीमती २२ वर्षकी ब्युझना, छोरीहरु ५ वर्षकी कोपिला र ३ वर्षकी रितुको उद्धार गरिएको हो । अहिले हराएकाहरुको खोजी भइरहेको छ । 

त्यसैगरी पहिरोले बाँफिकोट गाउँपालिका वडा नम्बर ४ को स्यार्पु सडकखण्डमा रहेका पाँच वटा पसलमा क्षति गरेको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमकाअनुसार बाँफिकोट गाउँपालिका वडा नम्बर ४ का डिलबहादुर परियार र बुद्धि केसीको घर उच्च जोखिममा रहेका छन् ।