विराटनगर,१० भदौ ।
प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् ।उनले आजै सपथ ग्रहण समेत गरेका छन् । आजै संसदीय दलको नेता चयन भएपछि आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए । उनलेे आजै केही मन्त्रीसमेत नियुक्त गर्ने बताइएको छ ।

विराटनगरको होटल एसियाटिकमा आजै संसदीय दलको बैठक बसेर दलको नेता चयन भएका आचार्यलाई आजै मुख्यमन्त्रीको सपथ गराइएको हो ।

संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको हो ।

आचार्यले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । तर, विश्वासको मत नपाउने निश्चित जस्तै बनेको छ । प्रदेश १ को मुख्यमन्त्रीबाट शेरधन राईले आजै प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीसमक्ष राजीनामा दिएका थिए ।