हालका निर्देशक शाक्यले हटिसकेको लोडशेडिङ व्युताउने संकेत गरेको आरोप
काठमाण्डौ,१९ साउन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले ऊर्जा मन्त्री पम्फा भुसाललाई बोलाएर प्राधिकरणका प्रमुख हितेन्द्रदेव शाक्यसँग राजीनामा माग्न र कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

प्राधिकरणका हालका प्रमुख हितेन्द्रदेव शाक्यको कामप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जा मन्त्री भुसालले कुलमान घिसिङलाई नै ल्याउने तयारी थालेका हुन् ।

हितेन्द्रदेव शाक्यले दीर्घकालीन र ठूला आयोजनाको काम त गर्न नसकेको र हटिसकेको लोडशेडिङ फेरि बिउँतिने खालको संकेत दिने गरी काम गरेकाले उनलाई हटाउने तयारी थाल्न प्रधानमन्त्रीले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

घिसिङ आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर गत वर्षको भदौमा प्राधिकरणबाट बिदा भएका थिए । उनलाई पुनर्नियुक्ति गर्न चौतर्फी दबाब आए पनि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नमान्दा घिसिङ प्रिाधिकरणबाट बिदा हुनुपरेको थियो ।

घिसिङले चार वर्ष पदमा रहँदा विद्युत चुहावट नियन्त्रण गरी देशलाई लोडशेडिङमुक्त गराउने, घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याउने, अलपत्र परेका जलविद्युत् आयोजना सम्पन्न गर्ने, प्रसारण लाइन र सब–स्टेशनको निर्माण र मर्मतमा तीव्रता दिने, विद्युतीकरणमा जोड दिने लगायतका काम गरेर चर्चामा आएका थिए