भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज,रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईसँग स्पष्टीकरण माग
काठमाडौं,१९ साउन ।
सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालिका वडा नम्बर–१० का रेग्मीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

आयोगको सदस्यहरूमा काठमाडौं कलंकीका डिल्लीराम रिमाल र काठमाडौं महानगरपालिका ९ कीर्तिपुरकी नन्दकुमारी महर्जनलाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताए । आयोग करीब एक वर्षदेखि पदाधिकारी विहीन रहेको थियो ।

बैठकले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र अतिथि सम्पादक गोपाल खनालले पदबाट दिएको राजीनामा पनि स्वीकृत गरेको प्रवक्ता कार्कीले बताए ।

सरकारले कोभिड नियन्त्रणका लागि एडिबीले दिएको करिब २३ अर्ब ५८ करोड ऋण सहायता स्विकार गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी राष्ट्रिय चिकित्सा शिक्षा पहिलो संशोधन नियमावली २०७८ पनि स्वीकृत गरिएको छ ।

मन्त्रिपरिषद बैठकले नेपाल प्रशासन सेवाको समूहीकरण क्लष्टरतर्फ राजपत्रांकित विशिष्ट श्रेणी पदमा सहसचिव हरिप्रसाद मैैनालीलाई बढुवा गरी अतिरिक्त समूहमा पदस्थापन गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले बताए ।

त्यस्तै सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले निहित स्वार्थका लागि प्रक्रिया नपु¥याइ आयोग गठन गरेको भन्दै मन्त्रीपरिषद बैठकले खारेज गर्ने निर्णय गरेको हो ।

यस्तै सरकारले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोधेको छ । पदीय आचरण विपरीतका काम गरेको भन्दै महाप्रबन्धक भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए ।

सरकारले राष्ट्रिय विभूषण छनोट समितिमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वउपकूलपति भूषण श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार गोविन्दप्रसाद शर्मा, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, उद्योगी कुशप्रसाद मल्ली, इन्जिनियर ओमप्रकाश महतो र नेपाली सेनाका अवकाशप्राप्त उपरथी नरबहादुर कँडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।