बुटवल,१९ साउन ।

सिद्वार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्डमा पर्ने पाल्पाको तिनाउ गाउँपालिका–३ दाेभान नजिकै माथिबाट खसेको ढुङ्गा लागेर घाइते भएका जिपका सहचालकको मृत्यु भएको छ ।

पाल्पाबाट बुटवलतर्फ आउदै गरेको लु२च ७३८७ नंको पिकअप जिपमा सोमबार राति ८ बजे माथिबाट एक्कासि खसेको ढुङ्गा लागेर सहचालक स्याङ्जा वालिङ नगरपालिका–११ बस्ने २३ वर्षीय आशिष खाँणको मृत्यु भएको हो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका सहचालक खाँणलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकामा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

जिप चालक चापाकोट नगरपालिका–५ बस्ने डिलु थापा घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।