बुटवल,१८ साउन ।
शुक्रबार रातीदेखि सम्पर्क विहिन भएकी लुम्बिनी प्रदेश सभा सदस्य विमला कुमारी खत्री वली नेकपा एमालेमै रहेको दाबी गरिएको छ ।

सम्पर्कबिहीन अबस्थामै उनको नामबाट जारी विज्ञप्तीमा आफु नेकपा एमालेमै रहेको दाबी गरिएको हो ।

गत बैशाखमा पत्रकार सम्मेलन गरी आफुले नेकपा माओवादी केन्द्र रोजेको बताएकी वली सम्पर्क बिहीन रहेकै अवस्थामा सोमबार अपरान्ह उनको नामबाट जारी विज्ञप्तीमा आफु नेकपा पार्टीको नाम र सुर्य चिन्हबाट चुनाव जितेको र सुर्य चुनाब चिन्ह हाल एमालेको भएकोले आफु एमालेमै रहेको जनाइएको छ ।

वली समेत बिपक्षी गठवन्धन दलका ४१ प्रदेश सभा सदस्यको हस्ताक्षर सहित बहुमतको सरकार गठन गर्न प्रदेश प्रमुखलाई निवेदन बुझाएको कहीबेरमा वलीको प्रेस विज्ञप्ति सार्वजानिक भएको हो ।

दाङ निर्वाचान क्षेत्र नम्बर ३ (क)बाट उप–निर्वाचनमा निर्वाचित वलीले गत बैशाखमा आफु राजी खुसी माओवादी केन्द्र रोजेको भन्दै पत्रकार सम्मेलन गरकी थिईन् ।

उनका श्रीमान उत्तरकुमार वलीले चुनाव जितेको क्षेत्रमा उनको सवारी दुर्घटनाबाट मृत्यु भएपछि उप–निर्वाचनमा विमलालाई उम्मेदवार बनाईएको थियो । नेकपा पार्टीको नाम र सुर्य चिन्हबाट चुनाव लडेकी विमलाले एमाले र माओवादी केन्द्र अलग भएपछि पार्टी रोज्न पाउने प्रावधान अनुसार बैशाखमा माओवादी केन्द्र रोजेकी थिइन् ।

सुर्य चुनाव चिन्हबाट चुनाव जितेर माओवादी केन्द्र रोज्नु कानुनीरुपमा ठिक नहुने भन्दै आफु एमालेमै रहेको विज्ञप्तिमा उल्लेख छ ।

माओवादी केन्द्रले प्रदेश सभा सदस्य वली पार्टीको सम्पर्कमा नरहेको र एमालेबाट अपहरण भएको हुन सक्ने आशंका गरिरहेका बेला अज्ञात स्थानबाट वलीको विज्ञप्ति सार्वजानिक भएसँगै विज्ञप्तिको आधिकारिकता माथि पनि आशंका उत्पन्न भएको छ ।

सम्पर्क बिहीन भएकी वली मुख्यमन्त्री शंकर पोखरेल निवासमा रहेको कतिपयले आशंका गरिरहेका बेला उनको नामबाट विज्ञप्ती जारी हुनु तर सम्पर्कमा नआउनुले उनि यही छिन भन्ने एकिन नभए पनि कसैको संरक्षणमा छिन भन्ने कुरालाई भने बल पुर्याएको छ ।

वलीलाई पटक पटक सम्पर्क गर्न खोज्दा उनको मोबाईलमा घण्टी गएपनि उठेन ।