काठमाडाैं,१७ साउन ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिग विजेताको पुरस्कार राशि बढाएको छ ।
असोज महिनामा गर्ने तयारी गरेको ए डिभिजन लिग कात्तिकका लागि सार्दै एन्फाले ए डिभिजन लिग विजेताको पुरस्कार राशि समेत बढाएको हो ।

एन्फा ले आइतबार डिभिजन लिगको विजेताले ७५ लाख रुपैयाँ पाउने जनाएको हो ।

यस अघिको सिजनमा च्याम्पियनले ५० लाख रुपैयाँ प्राप्त गरेको थियो । नयाँ सिजनको लिगको उपविजेताले ५० लाख प्राप्त गर्नेछ भने तेस्रोले २५ लाख पाउने एन्फाले जनाएको छ।

यस्तै एन्फाले क्लबलाई तयारी खर्चका लागि २०/२० लाख समेत उपलब्ध गराउने भएको छ ।
परिवर्तन गरिएको तालिकाअनुसार लिग आगामी कात्तिक २९ गतेबाट सुरु हुनेछ । ए डिभिजनका १४ क्लबसँग छलफल गर्दै लिगको नयाँ मिति तय गरेको हो । सोही छलफलबाट सहभागी क्लब लिग खेल्न सहमत भएको एन्फाले जनाएको छ । यसअघि ललितपुरका चार क्लबले महामारीलाई कारण दिएर असोज ३ बाट लिग खेल्न नसक्ने भन्दै ज्ञापन पत्र बुझाएका थिए ।

अक्टोबरको पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने सम्भावना भएकाले लिग सारिएको हो। साफ आयोजनाको लागि नेपाल र माल्दिभ्सले दाबी पेस गरिसकेको छ।